आमा–बा वा मायालुले बोलाउने नाममा आत्मियता अनि मीठामीठा सम्झनाहरू जोडिएका हुन्छन्। तर सार्वजनिक बोलाउन राखिएको नाम, जो हामी धेरैको पासपोर्टको पनि नाम हुन्छ, त्यही नाम नै हाम्रो परिचय बन्छ। बाआमाले विभिन्न अर्थ खोजेर राखिदिनु भएको नाम हामी प्रेमपूर्वक लेख्छौँ र गर्वका साथ अरूलाई सुनाउँछौँ तर त्यस्तो प्रेमपूर्वक राखिएको नाम कसैले गलत उच्चारण गरेर बोलाउँदा कस्तो हुन्छ होला?
अमेरिकामा मेरो मात्र होइन मेरा साथीहरूको पनि नाम धेरैले सही उच्चारण गर्न सक्दैनन्। न त मेरो नाम यहाँ कलेजमा पढ्दा शिक्षकहरूले नै सही उच्चारण गर्नुभयो न त काम गर्ने ठाउँमा सहकर्मीहरूले सही उच्चारण गरे। मैले कति पटक सहि उच्चारण गराउने प्रयास नगरेको पनि होइन। पछिपछि जे जसरी उच्चारण गरे पनि ठिकै छ भनियो। नामप्रति सचेत हुनेहरूले कहिलेकाहीँ सही उच्चारण गर्ने प्रयास गर्नुहुन्छ। तर काम गर्ने क्रममा फोनमा वा प्रत्यक्ष ग्राहक वा पाहुनाहरूलाई आफ्नो परिचय दिँदा न त उनीहरू मेरो नाम नै उच्चारण गर्न सक्छन् न त सम्झन नै।
फोनबाट परिचय दिनुपर्ने बेलामा सात अक्षरको मेरो नाम बिस्तारै उदाहरणसहित भन्दाभन्दै उता सुन्नेको सुन्ने इच्छा मरिसकेको हुन्छ। यसरी वर्षौंदेखि मेरो नामको गलत उच्चारण हुँदै आएको छ। कहिलेकाहीँ सोच्छु नाम त बोलाउने एउटा माध्यम हो किन दु:ख मान्नु तर फेरी सोच्छु होइन नाममा केही छ तर नाममा के छ ?
मेरो नाम सहदेव अब यसलाई अङ्ग्रेजीमा उच्चारण गर्न सजिलो होस् भनेर ‘SAHA-DAVE’ भनेर छुट्टाएर भन्छु। यहाँनेर म आफैँले 'सहदेव' नाम लाई 'सहड़ेभ' उच्चारण गरेर बिगारी सकेँ तर पनि भन्नेहरूले कि त 'डेव' मात्र भन्छन् कि त भन्नै सक्दैनन्। धेरैले त तिम्रो अमेरिकन नाम के हो भनेर पनि सोध्छन्। माइकलको 'माइक’ हुन्छ, रोबर्टको 'बब' हुन्छ, रिचार्डको 'रिक्' हुन्छ जोनथनको 'जोन' हुन्छ भने सहदेवको नाम किन ‘सह’ हुन सक्दैन भन्ने सोचेर काम गर्ने ठाँउमा नामलाई टुक्रा पारेर 'सह' बनाए। अलि सजह त भयो नाम भन्दा तर फेरी पनि फोनमा कुरा गर्दा वा प्रत्यक्ष ग्राहकहरू कुरा गर्दा गलत उच्चारण भएर कहिले 'हाहा' , कहिले 'सोहो' , कहिले 'साम' आदि इत्यादि हुँदै ‘सहिद’ पनि भयो।
सायद यस्तै समस्या भएर होला मेरा कति एसियन साथीहरूले छुट्टै अमेरिकन नाम राखेको। उनीहरूको पासपोर्टमा अर्कै नाम र बोलाउनको लागि छुट्टै अमेरिकन नाम छ र परिचय गर्दा त्यही नाम प्रयोग गर्छन्। मलाई पनि कहिलेकाहीँ नाम फेरौँ कि जस्तो नलागेको कहाँ हो र? तर सोचेँ आमा बाले केके सोचेर राख्नुभएको नाम किन फेर्नु। बरु फेर्नु भन्दा टुक्र्याउनु नै ठिकै होला भन्दै सहदेव लाई फेरी मैले उच्चारण गर्न सजिलो होला भनेर 'देव' (DEV ) बनाए। 'देव' बनाए पनि उच्चारण गर्ने बेलामा 'डेभ' भयो। तथापि काम गर्ने ठाउँमा सहकर्मीको बीचमा केहि सजिलो भयो। कामका पाहुना र ग्राहकले धेरैले नाम सम्झे पनि। यसरी म सहदेवबाट 'देव' बनेँ।
अरूले मेरो नाम बिगारे भनेर मात्रै पनि के गुनासो गर्नू। मैले पनि त मेरा सहकर्मीहरूको नाम कहाँ शुद्ध उच्चारण गर्न सकेको छु र! केही दिन अगाडि मात्रै मैले नाटक पढाउने स्कुलका विद्यार्थीको नाम लिने क्रममा एउटा विद्यार्थीको नाम गलत उच्चारण गरेँ, उनले मेरो नाम त्यसरी होइन यसरी उच्चारण गर्ने भनेर तुरुन्तै मलाई सजक गराइन्। दुईतिन पटक उच्चारण गरेरै सुनाइन्। त्यसपछि मैले उनको नाम शुद्ध उच्चारण गरेँ। तर मैले पनि विद्यार्थी भाइबहिनीलाई नाम उच्चारण गर्न सजिलो होस् भनेर मलाई ‘मिस्टर डी’ भनेर बोलाउँदा हुन्छ भनेँ। यतिखेर आएर मेरो सात अक्षरको नाम एक अक्षरमा झर्यो।
नाम गलत उच्चारण हुँदा धेरैले चित्त दुखाउने, गलत उच्चारणको गलत अर्थ हुने, अर्थको अनर्थ हुने रहेछ। नाम गलत उच्चारण हुँदा गलत अर्थ त् लाग्छ नै साथै नाम गलत उच्चारण भएमा नामले जोड्ने जुन आत्मीयता हुन्छ त्यो पनि नहुने रहेछ। जस्तो कि काममा वा जमघटमा कसैले तपाईंको नाम लिएर बोलाए वा तपाइको कामको प्रशंसा गर्दा नाम लिएर गर्दा कति खुशी लाग्छ।
सम्झन्छु कुनै समय न्युयोर्कमा नाटक गर्ने क्रममा नाटकका कलाकार साथीहरूले म नाटक हलमा पुग्ने बित्तिकै नाम सुद्ध उच्चारण गर्न मेरो नामलाई गीत नै बनाएर गाउथेँ ‘सहदेव…सहदेव’ भन्दै। शुद्ध कसरी बोल्ने अभ्यास पनि हुन्थ्यो अनि ममा एउटा मीठो अनुभूति पनि जाग्थ्यो।
यस्तो अनुभूतिले फेरी सोचमग्न बनाउँछ: नाममा यस्तो के छ? एकदिन काममा पाहुना स्वागत गर्ने क्रममा ‘मेरो नाम देव ह, के सेवा गरूँ’ भनेर स्वागत गरेँ। उनले ‘आर यु फ्रम नेपाल’ भनेर सोधे। मेरो रूप हेरेर एकैपटकमा मलाई म नेपाली हो भनेर थोरैले अनुमान लगाउँछन्। मैले हो म नेपालबाट भनेँ। उनी आफू बारम्बार नेपाल जाने आउने गरेको र नेपालसँग आत्मीय सम्बन्ध रहेको कुरा भावनात्मक रूपले सुनाए। एकछिनको कुराकानीपछि ‘आई थिङ्क डेभ इज नट योर रियल नेम।’ उनले व्हट्स योर रियल नेम? भनेर फेरी सोधे, मैले माई रियल नाम इज ‘सहदेव’ भने। उनले निक्कै शुध्दसँग ‘सहदेव’ उच्चारण गरे र भने ‘भेरी नाइस नेम।’
मुसुक्क हाँस्दै धन्यवाद भनेँ र फेरी भेट्ने आशा गर्दै उनी आफ्नो बाटो लागे। म दङ्ग परेर एकछिन सोची रहेँ साँच्चै नाममा के छ?