चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘भ्यालेनटाइन डे’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ।
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १२ औँ सौराहा फुड फेस्टिबल २०७४ आयोजना गर्न लागिएको हो।
बिहिबार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक कपिल रेग्मीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर माघ २८ गतेदेखि फागुन ३ गतेसम्म फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए।
फुड फेस्टिबल अवधिभर सौराहाका रेष्टुरेन्टहरूमा १५ प्रतिशत छूटको व्यवस्था पनि गरिएको छ। ५ दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा ६० वटा खानाको स्टल र १५ वटा अन्य व्यवसायिक स्टल रहनेछ।
फेस्टिबलमा करिब १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र करिब ७० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।