भर्खरै सम्पन्न १३ औं नाडा अटो शोमा हुण्डाइका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी ‘आयोनिक’ सार्वजनिक गर्यो।
नाडा शोबाटै बुकिङ सुरू भएको आयोनिकले शोकै आकर्षक गाडीहरूमध्येमा आफूलाई सामेल गराउन समेत सफल भएको छ।
संसारभर विद्युतीय गाडीको चर्चा र रुची बढ्दो क्रममा रहेकोले नेपाली ग्राहकको माग अनुसार गाडी भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलका असिस्टेन्ट जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए।
हुण्डाइले विद्युतीय गाडी निर्माण गर्दा धेरै रिसर्च गरेर मात्र गाडी बजारमा ल्याएको कारण आयोनिकमा कुनै पनि शंका गर्नु नपर्ने थपलियाको दाबी छ।
आयोनिक डिजेल पेट्रोल गाडी भन्दा केही हिसाबले कमी नभएको कम्पनीको दाबी छ।
आयोनिक बाहिरबाट हेर्दा ‘एरोडाइनामिक’ संरचनामा छ, जसले हावाको अवरोध कम हुने र धेरै चार्ज धेरै खेर जाँदैन। त्यस्तै, एरोडाइनामिकले यसलाई स्पोर्टी लुक्स पनि दिएको छ।
५ सिट क्षमताको यो कार फिचर्सको मामिलामा पनि अरू भन्दा कम नभएको थपलियाको जिकिर छ।
यसमा स्विफ्ट बाइ वायर प्रविधि दिइएको छ। यो प्रविधिले गियर परिवर्तन गर्न किबोर्ड चलाएझैँ सजिलो हुने कम्पनीले जनाएको छ।
त्यस्तै, यसमा अटोनोमस इमेर्जेन्सी ब्रेकिङ सिस्टम छ, जसले गाडी ठक्कर लाग्न थाल्यो भने चालकलाई ‘वार्निङ सिग्नल’ दिन्छ, सिग्नल पाउँदा पनि चालकले ब्रेक लगाएन भने गाडी आफैं रोकिन्छ।
साथै, यसमा रहेको स्मार्ट क्रुज कन्ट्रोलले सेट गरेको स्पिडमा गाडी चल्छ र कुनै अवरोध आयो भने आफैं स्पिड कम हुन्छ।
आयोनिकमा सुरक्षाका लागि ७ वटा एयर ब्याग समावेश गरिएको छ।
८८ किलोवाटको मोटर जडित आयोनिकले २९५ एनएम टर्क निकाल्ने थपलियाको भनाइ छ।
‘२९५ एनएमको टर्क भनेको ३ हजार सिसीको डिजल इन्जिन बराबर हो। यसकारण यसको पिकअप उत्कृष्ट छ,’ थपलियाले भने।
गाडी चार्ज गर्न कम्पनीले ग्राहकलाई उपलब्ध गराउने अन बोर्ड चार्जरले घरहरूको विद्युत क्षमता अनुसार ६ एम्पेयरमा चार्ज गर्नुपर्ने हुन्छ यसले गर्दा यो चार्जरले साधारण तथा १० देखि १२ घण्टामा फुल चार्ज हुन्छ।
त्यस्तै, नर्मल एसी चार्जरले ४ घण्टामा फुल चार्ज हुने र फास्ट डिसी चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ।
आयोनिक संसारकै इफिसियन्ट गाडी रहेको कम्पनीको भनाइ छ। अर्थात् यसमा रहेको २८ किलोवाटको ब्याट्रीले २ सय २० देखि २ सय ५० किलोमिटर चलाउन सकिने थपलियाले दाबी गरे।
यो गाडी चलाउँदा १ किलोमिटर बराबर १ रुपैयाँ ५० पैसा मात्र खर्च लाग्ने कम्पनीले जनाएको छ।
‘यसमा इन्जिन नभएको कारण बिग्रने सम्भावना निकै कम हुने र गाडी मर्मत खर्च लगायतको हिसाब गर्दा आयोनिकले वर्षमा डेढ लाख बचाउँछ,’ उनले भने।
गाडी बिग्रिएको अवस्थामा पनि हुण्डाइले इलेक्ट्रिक गाडीको लागि जनशक्ति तयार पारेर राखेको उनले जानकारी दिए। कम्पनीले हाल यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ। यसमा केही फेरबदल हुन सक्ने थपलियाले जानकारी दिए।
गाडीको स्तर र यसमा रहेको फिचर्स अनुसार यो मूल्य निकै कम रहेको उनले दाबी गरे। कम्पनीले ब्याट्रीमा ८ वर्ष र गाडीमा ३ वर्ष वारेन्टी प्रदान गरेको छ।
भिडियो – निशा भण्डारी