टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले गत फेब्रुअरीमा कम्प्याक्ट एसयुभी नेक्सन सार्वजनिक गर्यो।
कम्पनीले गाडी सार्वजनिक गर्नु अगावै प्रि–बुकिङ, फेसबुकमा मिडिल नेम, इन्टर कलेज मार्केटिङ कम्पिटिसन लगायतको क्यम्पेन समेत गरेको थियो।
नेक्सनको लागि सुरुगरेको प्रि बुकिङ क्याम्पेन अत्याधिक सफल भएको तथा अरु कम्पनीहरुलाई समेत नयाँ मार्केटिङ रणनीति सिकाएको सिप्रदी ट्रेडिङका जनरल म्यानेजर प्रविन खतिवडाले बताए।
‘हामीले १०० वटा मात्र नेक्सन बुकिङको आश गरेका थियौँ, तर गाडी नै नहेरी र मूल्य नै थाहा नपाई डेढ सय प्रिबुकिङ भएको थियो’ खतिवडाले भने।
हालसम्म नेक्सन ६०० भन्दा धेरै सेल्स भएको कम्पनीको दावी छ। नेक्सनको सफलतापछि सिप्रदीले भर्खरै सम्पन्न १३ औँ नाडा अटो शोमा नेक्सन एएमटी (अटोमेटिक म्यानुअल ट्रान्समिसन) नेपाली बजारमा ल्याएको छ।
नाडा अटो शोमा ग्राहकले नेक्सन एएमटी निकै रुचाएको खतिवडाको दावी छ। पेट्रोल र डिजल दुबै भेरियन्टमा उपलब्ध नेक्सन एएमटीको मूल्य कम्पनीले पेट्रोल इन्जिनको ४६ लाख ७५ हजार र डिजेल इन्जिनको ४७ लाख ९५ हजार निर्धरण गरेको छ।
नेक्सन एएमटीको डिजल भेरियन्ट १.५ लिटर इन्जिनमा उपलब्ध छ, जसले ११० पिएस पावर र २६० एनएम टर्क निकाल्छ। यो सेग्मेन्टमै सबैभन्दा उच्च रहेको कम्पनीले जनाएको छ।
त्यस्तै यसको १.२ लिटरको पेट्रोल इन्जिनले ११० पावर र १७० एनएम टर्क निकाल्छ। २०९ एमएम ग्राउण्ड क्लियरेन्स तथा ५.१ मिटर टर्निङ सर्कल रेडियसले यसलाई नेपालको बाटो सुहाउँदो बनाएको कम्पनीको दावी छ।
सुरक्षाको लागि यसमा ड्राइभर र को–ड्राइभर एयर ब्याग, एबिएस विथ इविडी, पार्किङ सेन्सर, पार्किङ क्यामरा लगायतका फिचर्स समावेश छ।
नेक्सन एएमटीको लुक्स नै राम्रो भएकोले पनि ग्राहकको रोजाइमा परेको कम्पनीको दावी छ। प्रोजेक्टर हेड ल्याम्प, डे टाइम रनिङ लाइट, एलइडी टेल ल्याम्प, रुफरेल, एक्स्ट्रनल एन्टेना, मेसिन कट अलोए ह्विल, डुअल टोन रुफ कलर, डुअल टोन ह्विल कलर आदि विशेषताले नेक्सन एएमटीलाई आकर्षक बनाएको छ।
नेक्सन एएमटी इट्ना अरेन्ज, भर्मन्ट रेड, मरोक्कन ब्लु, सियाट्टल सिल्भर, ग्लासगो ग्रे र क्यालेगेरी ह्वाइट गरी ६ रङहरुमा उपलब्ध छ।
त्यसैगरी थ्रिटोन इन्टेरियर, आरामदायी फोल्डिङ सिट, आर्मरेस्ट, कप होल्डर, रेयर सिट आर्मरेस्ट विथ कप होल्डर, ग्लोभ बक्स लगायत फिचर्सले यसलाई सुविधासम्पन्न र प्रिमियम बनाएको छ।
चालकको मनोरञ्जन तथा सहजताको लागि नेक्सन एएमटीमा ६.५ इन्च फ्लोटिङ ड्यास टप टच स्क्रिन, ८ स्पिकर साउण्ड सिस्टम, ब्लु तुथ कनेक्टिभिटी, स्टेरिङ माउण्टेड अडियो, फोन र भ्वाइस कन्ट्रोल लगायत फिचर्स समावेस छ।
गाडीको डिजाइन र पफर्मेन्स उच्चस्तरीय रहेको कम्पनीको दावी छ। सिप्रदीले नेक्सन एएमटीको खरिदमा दसैँ अफरअन्तर्गत २ लाख ५० हजार क्यास डिस्काउण्ट र १ वर्षको इन्स्योरेन्स प्रदान गर्ने घोषणा गरेको छ।