बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले साँखुदेखि दक्षिणकालीसम्म ३४ ठूला बस सञ्चालनमा ल्याएको छ।
अन्य रूटमा चलिरहेका १० वटा र २४ वटा नयाँ गरी ३४ बसले सो रूटमा सेवा दिने कम्पनीले जनाएको छ। केही दिनमै थप ६ वटा ठूला बस सोही रूटमा थपिने कम्पनीले जनाएको छ।
साँखुबाट छुटेका बस तीन रूट हुँदै दक्षिणकाली पुग्ने छन्। पहिलो रूटमा साँखु–जोरपाटी–चावहिल–कोटेश्वर–बल्खु हुँदै दक्षिणकाली पुग्नेछ भने दोस्रो रूट साखुँ–जोरपाटी–चावहिल–पुरानो बानेश्वर–डिल्लीबजार–रत्नपार्क–कालीमाटी– बल्खु हुँदै दक्षिणकाली पुग्नेछ। त्यस्तै तेस्रो रूटमा साँखु–जोरपाटी–चक्रपथ–कलंकी– बल्खु हुँदै दक्षिणकाली चल्नेछ।
४० सिट क्षमता रहेका बसमा अशक्त, जेष्ठ नागरिक, महिला, बच्चा–आमा, पत्रकार आरक्षण सिट उपलव्ध छ।
‘सामान्यतया महिला सिटमा जो पहिला गाडी चढ्छन् तिनै बस्छन तर बच्चा बोकेका महिला उभिएर यात्रा गर्नुपर्ने बाध्यता छ त्यसकारण हामीले बच्चा–आमा आरक्षण सिट बनाएका हौं’ कम्पनीका अध्यक्ष भिम बस्नेतले भने ‘पत्रकारहरु पनि रिपोर्टिङ गरेर थकित हुन्छन्, उहाँहरूलाई केही सहजता होस् भनेर आरक्षण छुट्याएका हौं।’
बसमा उभिने यात्रुको सहजताको लागि ह्याङ्गर, आरामदायी सिट, म्युजिक सिस्टम पनि रहेको छ। यात्रुहरूसँग अभद्र व्यवहार नहोस भन्ने उद्देश्यले चालक–सहचालकलाई बेलाबेलामा प्रशिक्षण पनि दिइने गरेको बस्नेतले जानकारी दिए।
हाल साँखुदेखि दक्षिणकालीसम्मको भाडा ९८ रूपैयाँ कायम गरिएको उनले जानकारी दिए। ४३ देखि ४५ लाखसम्म मूल्यका यी बस ३० प्रतिशत व्यवसायी र बाँकी फाइन्यान्स गरेर निकालेको बस्नेतले जानकारी दिए। कम्पनीमा कुल २ सय जना कर्मचारी कार्यरत छन्।
सबै रूट गरी ८१ वटा बस संचालन गरेको कम्पनीमा ४० जनाको लगानी रहेको अध्यक्ष बस्नेतले जानकारी दिए। बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले २०७३ साल चैत देखि सेवा सुरु गरेको हो।