मन्त्रिपरिषद्ले निर्णयमा ढिलाइ गर्दा बागमती अञ्चलमा नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको छ।
बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल/स्कुटरको मंगलबारदेखि दर्ता रोकिएको हो।
यातायात व्यवस्था विभागले बागमती अञ्चलका मोटरसाइकल/स्कुटरको संकेत अक्षर (लट नम्बर) तीन डिजिटको बनाउन नियमावली संशोधन गरी मन्त्रिपरिषद्मा पठाएको थियो। ९९ को लट नम्बर सकिनु अगावै मन्त्रिपरिषदको निर्णय आउने विभागको अपेक्षा थियो।
‘पहिलो पटक भदौ १७ गते संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा गएको थियो। केही कुरा थप्न निर्देशन आयो। केही दिनमा हामीले संशोधन गरेर पठायौं, तर अहिलेसम्म नियमावली पारित भएन,’ विभाग प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘सायद छिटै मन्त्रिपरिषद्ले निर्णय गर्छ होला।’
प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन गएपछि मन्त्रिपरिषद् बैठक बसेको छैन। प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।
इम्बोस्ड नं. प्लेट लागू भएको भए अहिले यस्तो कुनै समस्या पर्ने थिएन। तर इम्बोस्ड नं.प्लेटको सम्बन्धमा सर्वोच्चमा मुद्दा परेपछि चलनचल्तीमा रहेको नं.प्लेटमा रहेको अंक बढाउन नियमावली संशोधन गर्नुपरेको विभागले जनाएको छ।
‘नियमावली संशोधनको लागि मन्त्रिपरिषद पठाएका छौँ, त्यहाँबाट संशोधन पारित भएपछि ‘बा १०० प’ बाट दर्ता सुरु हुन्छ’ उपाध्यायले सेतोपाटीसँग भने।
हालको सवारी तथा यातायात व्यवस्था नियमावली , २०५४ अनुसार साना सवारी (मोटरसाइकल स्कुटर लगायत दुई पांग्रे)को नम्बर प्लेटमा बढीमा आठ ओटा सम्मको अंक र अक्षर रहने व्यवस्था छ। जसमा तल र माथि दुई लाइनमा राख्र्नु पर्ने छ
नियमावलीअनुसार माथिल्लो लाइनको सुरूमा दर्ता गर्ने कार्यालयको अंचल संकेत अक्षर र त्यसपछि समूह जनाउन अंक लेखिनु पर्ने छ। त्यस्तो सवारी जनाउने अंक १ देखि ९९ सम्म हुने भनिएको छ। त्यस्तो अंक पछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नु पर्ने कार्य विधिमा उल्लेख छ।
त्यस्तै तल्लो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्ने र यस्तो दर्ता नम्बर एउटा संकेत अक्षरमा बढीमा चार अंक (१ देखि ९९९९) सम्म हुनेछ। कुनै एक संकेत अक्षरमा सबैभन्दा ठूलो ९९९९ पुगेपछि क्रमश अर्को संकेत अक्षर दिई त्यसमा पनि १ देखि ९९९९ सम्म दिँदै जानु पर्नेछ।