दोस्रो विश्वयुद्धदेखिको इतिहास बोकेको जिप ब्राण्ड नाडा अटो शोबाट नेपालमा औपचारिक रुपमा भित्रियो। ‘फादर अफ एसयुभी’ भनेर चिनिने जिपलाई अमेरिकी सेनाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए र यसैको सहयोगमा अमेरिकाले यो युद्ध जितेको मानिन्छ।
जिप ब्रान्डको स्वामित्व फिएट क्राइस्लर अटोमोबाइलले लिएपछि जिप गत वर्षबाट भारतमा निर्माण हुन थालेको हो। जिप इन्डियाको पहिलो उत्पादन हो जिप कम्पास।
‘भारतको पुनेस्थित प्लान्टबाट उत्पादन हुने कम्पास अष्ट्रेलिया, जापान, बेलायत लगायत २६ वटा देशमा निर्यात हुने बताउँछन्, एमएडब्लु लाइफका सिनियर सेल्स अफिसर निर्मल आचार्य।
नेपालको लागि जिपको आधिकारिक वितरक एमएडब्लु लाइफ हाल जिपको कम्पास एसयुभीमा केन्द्रित छ। कम्पास बुझ्नको लागि नाडा अटो शोमा उत्साहजनक जनसहभागिता, सोचेभन्दा राम्रो बुकिङ र प्रतिक्रिया पाएको उनी बताउँछन्।
डिजेल इन्जिनमा ७ र पेट्रोलमा ३ गरी १० भेरियन्टमा उपलब्ध कम्पास जिप चर्चित मोडेल ग्राण्ड चेरोकी र र्याङ्ग्लरको समिश्रणबाट भएको हो।
कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) टार्बो इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १६३ पीएस पावर र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २ लिटर इन्जिनले १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।
पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डिसीटी अटोम्याटिक गियर बक्स छ। डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स रहेको छ।
कम्पास पेट्रोल भेरियन्ट ४ बाई २ सेटअपमा मात्र उपलब्ध छ भने डिजेल भेरियन्ट ४ बाई २ र ४ बाई ४ दुवैमा उपलब्ध छ। कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ।
कम्पास जिपलाई सिग्नेचर सेभेन स्लट ग्रिल, सिग्नेचर हेडलाईट, बडी कलर डोर ह्याण्डल, रुफ रेल्स, रेयर स्पोइलर, एलइडी टेल ल्याम्प, डे टाइम रनिङ ल्याम्पले गाडीलाई आकर्षक बनाएको छ।
यसमा ८.८९ सेन्टीमिटरको ग्राफिक्स ड्राइभर इन्फर्मेसन डिस्प्ले, एड्जस्टेवल ड्राइभर सिट, सफ्ट टच ड्यास बोर्ड लगायत सुविधा उपलब्ध छ।
त्यस्तै यसमा रहेको रेयर एक्सेल डिस्कनेक्ट फिचर्सले फ्युल इकोनोकी राम्रो बनाएको कम्पनीको दावी छ ।
यात्रुको सुरक्षाको लागि कम्पासमा एबिएस, इबिडी, प्रिब्रेक फेलियर लगायत विशेषता छन्। प्रिब्रेक फेलियरले ब्रेकले काम नगरेको खण्डमा दुर्घटना हुन दिँदैन।
कम्पास तीन लेयरको पाताले बनेको हुँदा ‘बडी’ निकै बलियो भएको आचार्यले जानकारी दिए।
त्यस्तै यसमा इलेक्ट्रिक पार्किङ ब्रेक छ, जसले ह्याण्डब्रेक तान्नुपर्ने झण्झट हटाएको छ। त्यसैगरी यसमा ह्विल स्टार्ट असिस्ट फिचर्स छ, जसले उकालोमा गाडी पछाडि नहट्ने कम्पनीको भनाइ छ। कम्पासको टप भेरियन्टमा ६ एयर ब्याग समावेश गरिएको छ ।
चालकको सहजताको लागि यसमा यु कनेक्टको ७ इन्च टच स्क्रिन डिस्प्ले, रिभर्स क्यामरा, ब्लुतुथ, एसी कन्ट्रोल, ६ स्पिकर साउण्ड सिस्टम, भ्वाइस कमाण्ड लगायतका विशेषता छन्।
जिप कम्पासको लुक्स उत्कृट रहेकोले बैंकर, डाक्टर इन्जिनियरले मन पराएको उनले बताए। त्यस्तै शक्तिशाली इन्जिन भएका कारण अफरोड यात्रा गरिरहनुपर्ने व्यक्तिहरुको रोजाइमा समेत परेको आचार्यले जानकारी दिए।
कम्पनीले यसको मूल्य पेट्रोल भेरियन्टमा ६८ लाख ५० हजार देखि ८९ लाख सम्म र डिजेल भेरियन्टमा ७४ लाख ९० हजार देखि ९६ लाख ५० हजारसम्म निर्धारण गरेको छ।