दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन छठ पछि मात्र खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।
नयाँ आवेदन नखुले पनि रिट्रायल भने तिहार अघि नै खोल्ने तयारी भएको विभागका सुचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।
‘हामी रिट्रायल केही दिनमा सुरू गर्छौँ तर नयाँ आवेदन फारम भने छठपछि मात्र लिने तयारी छ’ उपाध्यायले सेतोपाटीसँग भने। मिति भने निश्चित नभइसकेको उनले जानकारी दिए। ‘मिति निश्चित गरेर हामी सुचना निकाल्छौ’ उनले भने।
उता, ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्। यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ।
मालिकाले पुर्ण गतिमा लाइसेन्स छाप्न थालेपछि ४५ दिन भित्रमा ५ लाख कार्ड छापेर विभागलाई बुझाउनु पर्ने उपाध्यायले जानकारी दिए।
अहिले विभागले पनि नियमित दैनिक २ हजार लाइसेन्स प्रिन्ट गरिरहेको उनले बताए।