दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।
नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। ‘ ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्छौ’ उपाध्यायले सेतोपाटीसँग भने।
५० हजार भन्दा धेरै लाइसेन्स छापियो
ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्। यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ।
आफूहरुले हालसम्म ५० भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए। चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए।
‘सुरुवाती दिनमा हामीलाई प्राप्त डाटा मध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ।'
छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको ढकालले बताए।