जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका छन्। उनलाई सोमबार पक्राउ गरेपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ।
गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो।
अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताव गर्ने बताएका छन्।
कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ। जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन्।
'कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण विषय हो,' जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग भने।
मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले सरकारका रूपमा आफूहरूले गर्न सक्ने सबै कुरा गर्ने बताए।
६४ वर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल व्यवस्थापकको छविमा ठूलो आघात पुर्याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ ।
फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएको बताएको छ।
गोसन पक्राउ भएको भन्ने समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने विषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो। यद्यपि टोकियोका अभियाजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन्।
जापानी अभियोजनकर्ताहरूले भनेका छन्, 'गोसनलाई विगत पाँच वर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो।'
निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ। गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ। एएफपी