बिद्युतीय सवारी साधनलाई सार्वजनिक आवागमनमा ल्याउन काठमाडौं महानगरपालिकाले प्रदेश सरकारसँग लगानी साझेदारिता गर्ने भएको छ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार सुन्दर यातायातका अधिकारीसँगको भेटमा यस्तो कुरा बताएका हुन्।
चीनको बिवाइडि कम्पनीले आफ्ना बस सहुलियत दरमा दिने भएको उनले बताए। ‘बसको मुल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि पूर्वाधारका आधारमा सम्भावना हेरिरहेका छौँ’ शाक्यले भने। भेटका क्रममा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने कम्पनीका अधिकारी पनि सहभागी थिए।
सुन्दर यातायातले अबको ६० दिनभित्र, ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका ३ वटा सार्वजनिक बिद्युतीय बस सञ्चालनको तयारी गरेको छ।
कम्पनीका कार्यकारी अध्यक्ष भेषबहादुर थापाले भने ‘हामीले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका छौं, सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेका हौं।’ सरकारले बिद्युतीय बस सेवा सञ्चालनलाई प्राथमिकतामा राखेपछि आफूहरु यस काममा अग्रसर भएको उनले बताए।
भेटका क्रममा बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले बिओडि कम्पनीका बसहरुभन्दा आफ्नो कम्पनीका बसहरु सस्ता र बलिया भएको दावी गरे। ‘हामी संसारभरिका सहरमा बस पठाइरहेका छौं, जुन सहरमा पठाउने हो, त्यहाँको भूगोल र आवश्यकता अनुसारका बस तयार गरेर पठाउँछौं’ उनले भने।
विद्युतीय बस सेवा प्रवर्धन गर्न अहिले बिएकका प्रबन्धक, बजार व्यवस्थापक र अन्तरर्राष्ट्रिय व्यापार व्यवस्थापक नेपाल आएका छन् ।