जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्लूले जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्।
कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक शुक्रबारबाट बिक्री गर्ने छ।
कम्पनीका अनुसार उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्लूका बाइक चर्चित छन्।
यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ।
टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचर रहेका ककम्पनीको भनाइ छ।
दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९ हजार ५०० आरपीएममा ३४ बीएचपी पावर र ७५ हजार आरपीएममा २८ एनएम टर्क उत्पादन गर्ने भनिएको छ।
जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।
बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ ।
विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेकोमा कम्पनीले रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ भने, सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।
त्यसैगरी रातो र कालो रंगको बिएमडब्लू जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।