सरकारले सिंहदरबार परिसरभित्रका सरकारी कार्यालय परिसरबाट थन्किएर रहेका गाडीको व्यवस्थापन गर्ने भएको छ।
नचलाएर राखिएका गाडी धुलाम्मे रहेर थन्किएको भन्दै सरकारले मर्मत गरेर चालउन सकिने अवस्थामा रहेकालाई मर्मत गर्ने र चलाउन नसकिने अवस्थामा रहेकालाई हस्तान्तरण गर्ने भएको छ।
पुस १८ गते बसेको सचिवस्तरीय बैठकले गाडीको व्यवस्थापन माघ मसान्तसम्म गरिसक्ने निर्णय गरेको हो।
यसका लागि मर्मत गरी चलाउन सकिने र चलाउन नसकिने गाडीबारे मन्त्रालय तथा निकायले मन्त्रिपरिषद् कार्यालयमा विवरण उपलब्ध गराउनुपर्ने छ।
त्यसरी विवरण दिंदा आवस्यक गाडीको विवरण पनि खुलाउनुपर्ने छ। यसरी मर्मंत गरेर चलाउन सक्ने अवस्था भएमा कसले कति चलाउने भनेर मन्त्रिपरिषद कार्यालयले निर्णय गर्ने छ।
धेरै पुराना भएका मर्मत गरेर पनि चलाउन नसकिने अवस्थामा रहेका गाडीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा विद्यार्थीहरुको प्राक्टीकलका लागि प्राविधिक शिक्षालयहरुलाई दिइने छ।
यसरी हस्तान्तरण पनि नहुने गाडीहरुलाई लिलाम गरेर विक्री गरिने सचिवहरुको बैठकले निर्णय गरेको हो।
गाडीको मर्मत गरेर चलाउन सकिने तर सम्बन्धित निकायलाई आवस्यक नभएमा त्यसको विवरण तयार पारी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा दिनुपर्ने छ।
त्यस्तै उक्त बैठकले मन्त्रालय र निकायको छत तथा भवन भित्र रहेका पुराना फर्निचर, सोफा पनि हटाउने निर्णय गरिएको छ।