यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा नयाँ ट्याक्सी थप्ने सम्बन्धमा गृहकार्य गरिहेको छ।
नयाँ ट्याक्सी थप्नु पूर्व गृहकार्य भइरहेको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।
विभागले विशेषत ट्याक्सीको भाडा र मापदण्ड समय सान्दर्भिक बनाउन लागेको उनले जानकारी दिए।
‘मापदण्डको सन्दर्भमा काठमाडौंलाई सुहाउँदो, वातावरण मैत्री, विदेशी यात्रुलाई सहजता हुने खालको र देशको राजधानीको ट्याक्सी भन्न सुहाउने मापदण्ड बनाउन लागेका छौं,’ उपाध्यायले सेतोपाटीसगँ भने ‘१२ सय सिसि भन्दा बढी इन्जिन क्षमताको, राम्रो अप्सनलगायत मापदण्ड रहनेछन्।’
पहिले सीमित कम्पनीको गाडीलाई मात्र समेटिएकोमा यो मापदण्डले धेरै कम्पनीको गाडीलाई समेट्ने उनले जानकारी दिए।
गाडीको मापदण्डसम्बन्धी मस्यौदा मन्त्रिपरिषदमा पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
त्यस्तै विभागले समय सापक्ष र वैज्ञानिक ट्यासी भाडा निर्धारण गर्ने तयारी समेत थालेको छ।
गतवर्ष असोज ७ गते १० प्रतिशत मूल्य वृद्धि भएको थियो। त्यसबेला दसैंको मुखमा भएको कारण इन्धनको मूल्य वृद्धिलाई मात्र आधार मानिएको थियो।
इन्धनको मूल्यले ट्याक्सी भाडामा ३५ प्रतिशतमात्र भूमिका खेल्ने विभागले जनाएको छ।
‘विदेशी अभ्यास हेर्ने हो भने भारतमा फ्लेक डाउन मनी भनेर ३ किलोमिटर सम्मको लागि ३०/३५ रुपैयाँ तिर्नुपर्छ। हामी पनि नेपालमा न्यूनतम ५० रुपैयाँ राख्न सक्छौं,’ प्रवक्ता उपाध्यायले भने।
फ्लेक डाउन मनी राखियो भने यात्रु र चालक दुवैलाई न्याय हुने उनको तर्क छ।
ट्याक्सीको मापदण्ड मन्त्रिपरिषदले पास गरेको खण्डमा उपत्यकामा छिट्टै नयाँ ट्याक्सी थपिने उपाध्यायले जानकारी दिए।