पोखरा नगर बसले वैशाखदेखि नगरबसमा इ–टिकेटिङ गर्ने भएको छ।
पोखरा महानगरपालिका, पोखरा बस व्यवसायी, एन क्लाउड नेपालबीच आइतबार इ–टिकेटिङसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एन क्लाउड नेपालले पोखराका ८ सय बसमा इ–टिकेटिङका लागि प्राविधिक रूपमा अगाडि बढाउने छ।
यो प्रविधि सुरू भएपछि व्यवसायीले प्रत्येक यात्रुलाई कार्ड उपलब्ध गराउने छन्। यात्रुले बोकेको त्यही कार्ड बसका सहचालकले मेसिनमा ‘टच’ गराउनेछन्। जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ।
कार्डलाई १ सय ४० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए।
मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ। सबै बसमा लागू भए सेवा झनै प्रभावकारी हुने उनले सुनाए।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले बस भाडामा ठगिएको गुनासो भए पनि इ–टिकेटिङले समस्या समाधान हुने बताए।
उनले पोखरालाई स्मार्ट सिटी बनाउन र तोकिएको भाडा लिन सहयोगी हुने बताए। जिसीले पोखराको ट्राफिक व्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए।
उनले पोखरामा चल्ने गाडीहरूको स्तरवृद्धिमा समेत गर्न व्यवसायीलाई आग्रह गरे।
अहिले पोखरा नगरभित्रका बसमा जडान गर्ने र सफल भएमा लामो दूरीमा समेत सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए।
पोखराबाट लामो दूरीका यातायात सञ्चालन गर्ने पृथ्वी बस समितिसहित पोखरा बस व्यवसायी समिति, स्थानीय श्रृंगार यातायात, बेगनास ताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समितिले इ–टिकेटिङ सिस्टममा जाने छन्।
एन क्लाउड नेपालका अधिकृत श्रेष्ठले कार्डलाई पहिलो चरणमा बस व्यवसायीले निःशुल्क बाँड्ने बताए। उनले यस अगाडि काठमाडौं पनि कम्पनीले इ–टिकेटिङ सुरू गरेको बताए।