सरकारले विद्युतीय सवारी संचालनको नीति बनाउन ढिलाई गर्दा निजी क्षेत्रले ल्याएका ठूला विद्युतीय सवारी संचालमा अन्यौलता छाएको छ।
विद्युतीय सार्वजनिक यातायात संचालन गर्ने उदेश्यले सुन्दर यातायात ट्रेडर्स प्रालीले ल्याएको विद्युतीय गाडी र चार्जिङ स्टेसन प्रयोग विहिन बनेका हुन्।
आइतबार सुन्दर यातायात ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापा लगायतको टोलिले विद्युत प्रधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भटेर विद्युतीय गाडीको लागि चार्ज गर्ने शुल्क, अरुको चार्ज गर्दा लिने शुल्क लगायत आधारभूत कार्य सहजीकरण गर्न आग्रह गरेका हुन्।
घिसिङले उर्जा मन्त्रालयले यही विषयको लागि समिति बनाएकोले समितिको निणर्य नआउन्जेल मिटर लिएर व्यवसायीक प्रयोजनको नीति अनुसार चार्जिङ गर्न आग्रह गरे।
‘आफ्नो गाडी चार्ज गर्न कति लोड चाहिन्छ हामी उपलब्ध गराउछौँ। मन्त्रालयले कार्यविधी तयार पारेपछि अरुको गाडी चार्ज गर्दा कति पैसा लिने तय हुन्छ,’ उनले भने।
त्यसैगरी विद्युतीय गाडी संचालनको नीति नबन्दा गाडी दार्ता समेत हुन नसकेको थापाले गुनासो पोखे।
‘हामीले कुन नितिमा रहेर गाडी दर्ता गर्ने?, भाडा कसरी लिने?, विद्यार्थी र जेष्ठ नागरीकलाई कसरी छुट दिने? यस्ता मापदण्ड त सरकारले बनाइदिनु पर्यो नि,’। थापाले भने।
सुन्दर यातायातले २ वटा ठूला विद्युतीय गाडी ल्याईसकेको छ भने अन्य ११ वटा ल्याउने तयारी अन्तिम चरणमा छ।
१ करोड ८७ लाख मूल्य पर्ने यी गाडीमा जिपिएस, एसी, इसेवा कार्डर मोवाईबाटै भाडा तिर्न सक्ने व्यवस्था मिलाइएको प्रालीले जनाएको छ। त्यसैगरी प्रालीले १६ वटा कम्पनीका गाडी चार्ज गर्न मिल्ने ७ वटा फास्ट चार्जर समेत ल्याइसकेको छ भने सुकेधारा र सितापाइलामा चार्जिङ स्टेसन बनाउने काम धमाधम भइरहेको छ।