सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मास प्रिन्टर डेढ महिना भित्र आउने भएको छ।
एसियाली विकास बैंकको सहयोगमा ल्याउन लागिएको एउटा मास प्रिन्टर र १० लाख कार्ड ठेक्काको लागि परेका आवेदनको मूल्याङ्कन भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।
‘टेन्डरको मूल्याङ्कन अन्तिम चरणमा छ। बढीमा अबको डेढ महिना भित्र सप्लाई हुने गरी सम्झौता गर्छौँ,’ उनले भने। यो मास प्रिन्टरले एक घण्टामा ५ सय र दैनिक करिव १० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागले जनाएको छ।
यो प्रिन्टर अटोमेटिक भएका कारण आवश्यकता अनुसार २४ सै घण्टा चलाउन सकिने उपाध्यायले बताए। प्रकृया पुरा गरेका अझै करिव ४ लाख ५० हजार चालक रसिदकै भरमा सवारी चलाउन बाध्य छन्।
मास प्रिन्टर आएपछि ३ देखि ४ महिनाभित्र ‘ब्याक लक’ हट्ने उपाध्यायको दावी छ। ‘ब्याकलक हटेपछि प्रकृया पुरा गरेको हप्ता दिनमा लाइसेन्स दिन सकिने गरी हामी काम गर्छौँ’ उनले भने।
हाल विभागमा सातवटा मेसिनबाट दैनिक ३ हजार वटा लाइसेन्स छापाई हुन्छ। हालसम्म करिव ८ लाख ५५ हजारले स्मार्ट कार्ड पाइसकेको विभागले जनाएको छ।
त्यस्तै लाइसेन्स छाप्ने अधिकार प्रदेशमा गइसकेकाले अर्को आर्थिक वर्ष देखि प्रदेशबाट पनि छपाई गर्ने तयारी भइरहेको उनले जानकारी दिए।