आन्तरिक राजस्व कार्यालय, ललितपुरले राइड सेयरिङ कम्पनी टुटलमाथि ३ करोड ३९ लाख कर निर्धारण गरेपछि त्यसविरुद्ध कम्पनी पुनरावलोकनमा जाने भएको छ। कर निर्धारणको पत्र पाएसँगै पुनरावलोकनमा जाने निष्कर्षमा कम्पनी पुगेको हो।
टुटलले विद्युतीय बिलमा मूल्य अभिवृद्धि कर शीर्षकमा पैसा उठाएको तर सरकारलाई नबुझाएको कुरा समाचारमा आएपछि कर कार्यालयले टुटल र पठाओमाथि छानबि सुरु गरेको थियो।
अहिले निर्धारण गरिएको कर टुटलले तिर्न नसक्ने र आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष पुनाराअवलोकनमा जाने टुटलका संस्थापक शिक्षित भट्टले बताए।
‘हामीले एक सयको राइडमा ४ रुपैयाँ मात्र पाउँछौ तर यहाँ १ सय रुपैयाँको कर लगाइएको छ। यत्रो रकम कर तिर्नु पर्यो भने टुटल बन्द हुन्छ’ भट्टले सेतोपाटीसँग भने ‘हामीले ३ करोड ३९ लाख कर तिर्नेगरी कमाएका पनि छैनाैँं र तिर्न सक्ने क्षमता पनि छैन।’
१० हजार भन्दा धेरै चालक टुटलमा आवद्ध छन्। दैनिक २५ सय देखि तीन हजारसम्म राइड हुने भट्टले जानकारी दिए।