साझा यातायातका थप २० वटा नयाँ सिटी बस संचालनमा आउने भएको छ।
काठमाडौं महानगरपालिकाको सेयर लगानीमा ती बस खरिद गरिएको साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।
हाल बसको प्राविधिक परीक्षण भइरहेको र परीक्षण सकिएपछि संचालनमा आउने उनले जानकारी दिए।
‘बसको प्राविधिक परीक्षण भइरहेको छ। त्यसपछि दर्ता प्रकृया पुरा गरी रुटपरमीट लिन्छौँ र बसहरु संचालनमा आउँछ’ उनले सेतोपाटीसगँ भने।
संभवत जेठ महिनामै संचालनमा आउने पाण्डेले बताए। युरो ४ मापदण्डका यी गाडी ४० भन्दा धेरै सिट क्षमताका छन्। अपांग मैत्री यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।
यी गाडीहरु कुन रुटमा चलाउने भने निश्चित भई नसकेको उनले जानकारी दिए। यी २० बससँगै साझाको बस संख्या ७१ पुगेको छ। हाल साझाका ६ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन्। साझाले उपत्यका बाहिर काठमाडौं– बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ। बाँकी बस उपत्यकाका तीनै जिल्लामा संचालन भइरहेका छन्।
साझाले कार्डमार्फत भुक्तानी हुने व्यवस्था समेत गरेको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता समेत बढ्ने साझाले जनाएको छ।