ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता सम्पन्न भएको छ।
बैंक र उक्त सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैँसीपालन गरी दूध तथा दूग्धजन्य वस्तुहरू उत्पादन गर्ने कृषकहरूलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ।
उक्त अवसरमा बैंकले स्थानीय किसानहरूलाई डिजिटल बैंकिङ सेवाको मुल प्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो।
बैंकले मुलुकका ७७ वटै जिल्लामा २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।