दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको डाटा अर्थात इन्टरनेट सेवाबाट हुने आम्दानी बढेको छ। कम्पनीले सन् २०१८ को तेस्रो त्रैमासिकमा डाटा सेवाबाट मात्रै कुल ३ अर्ब ३८ करोड आम्दानी गरेको छ।
एनसेलको प्रमुख लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरको तेस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन अनुसार कुल आयमा डाटा सेवाको योगदान बढेको छ।
सन् २०१५ को तेस्रो त्रैमासिकमा कम्पनीको कुल आयमा डाटाको योगदान ११ प्रतिशत रहेकोमा सन् २०१६ को सोही अवधिमा बढेर १७ प्रतिशत पुगेको छ। त्यस्तै २०१७ को तेस्रो त्रैमासिकमा २० प्रतिशत पुगेकोमा सन् २०१८ को तेस्रो त्रैमासमा २४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
एनसेलले यो त्रैमासमा कुल १४ अर्ब १२ करोड आम्दानी गरको थियो। कम्पनीले डाटाबाट प्रत्येक महिना १ अर्ब १३ करोड आम्दानी गरीरहेको छ । एनसेलका कुल १ करोड ६५ लाख ग्राहकमध्ये ४६.७ प्रतिशतले डाटा सेवा प्रयोग गर्छन्। कम्पनीका कुल ७७ लाख २१ हजारभन्दा धेरै ग्राहकले डाटा सेवा लिइरहेका छन्।
प्रतिवेदन अनुसार २०१८ को तेस्रो त्रैमासिकमा एनसेलको प्रति ग्राहक डाटा खपत दोब्बरभन्दा धेरैले बढेको छ। कम्पनीको प्रति महिना प्रति ग्राहक डाटा खपत ८ सय १८ एमबी पुगेको छ। गत वर्ष सोही अवधिमा ३ सय ६१ एमबी थियो।
शुल्कमा भएको गिरावट, स्मार्टफोनको बढ्दो प्रयोग र ग्राहक संख्यामा भएको वृद्घिले गर्दा डाटाको मागमा वृद्धि भई खपत तथा डाटाबाट हुने आय बढेको हो। प्रतिवेदन अनुसार एनसेलका कुल ग्राहकमध्ये ५८ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन् र यो संख्या गत वर्षको सोही अवधिको भन्दा ९ प्रतिशत बिन्दुले धेरै हो।
उक्त प्रतिबेदन अनुसार एनसेलको कुल डाटा खपत यो वर्षको तेस्रो त्रैमासिकसम्ममा १ करोड ८६ लाख जिबी पुगेको छ। २०१७ को तेस्रो त्रैमासिकमा कुल डाटा खपत ७७ लाख जिबी रहेको थियो। यस्तो खपत २०१६ भरमा १ करोड २० लाख जिबी थियो भने सन् २०१५ मा ४५ लाख जिबी थियो।
चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) र थ्रिजी इन्टरनेट विस्तारले डाटा सेवालाई थप ग्राहकमा पुर्याएको एनसेलले जनाएको छ। कम्पनीले २०१७ जुनमा फोरजी सेवा सुरु गरेको थियो।
कम्पनीको इन्टरनेटको आय बढे पनि कुल आयमा ह्रास आएको प्रतिवेदनले देखाएको छ। गत वर्ष तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानी १४ अर्ब ५७ करोड पुगेको थियो। ओभर द टप (ओटिटी) सेवाको प्रभाव र तुलनात्मक रुपमा सस्तो हुदै गएका सेवा लगायतका कारणले एनसेलको मात्र होइन पछिल्लो समय दूरसंचार सेवा प्रदायकको आय वृद्धिदरमा ह्रास आएको पाइन्छ।
भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, इमो, स्काइप लगायतका ओटिटी सेवाको प्रयोग गरेर अन्तर्राष्ट्रिय तथा लोकल कल गर्ने क्रम बढ्नाले नेटवर्क सेवा प्रदायकको आम्दानीमा असर परेको सेवा प्रदायकहरुले बताउँदै आएका छन्।
केही वर्ष अघि सम्म टेलिकम कम्पनीहरुको कुल आयमा ४० प्रतिशत भन्दा बढिको योगदान गर्ने अन्तर्राष्ट्रिय कलको योगदान हाल घटेर ३० प्रतिशत भन्दा कम भईसकेको छ। यसले कम्पनीहरुको आय घटाउनुका साथै देशले दूरसञ्चार क्षेत्रबाट गर्ने वैदेशिक मुद्रा आर्जन तथा सरकारले पाउने राजश्वमा समेत असर परेको छ। आजियाटाका अनुसार, फोरजी सञ्चालन र डाटा आयमा भएको वृद्घिले एनसेलको अन्तर्राष्ट्रिय कलबाट हुने आयमा आएको गिरावटलाई केही राहत दिएको छ।