सामाजिक संजालको बढ्दो प्रयोगले दूरसंचार कम्पनीहरुको आम्दानी घटेको छ। देशका प्रमुख दूरसंचार कम्पनीहरु नेपाल टेलिकम र एनसेलको आयमा प्रत्येक्ष असर परेको छ।
सामाजिक संजालको प्रयोग तुलनात्मक रुपमा सस्तो हुँदा सोमार्फत सन्देश र कल आदानप्रदान बढ्दै गएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय कलवापतको आम्दानी घटेको छ।
केही वर्ष अघिसम्म टेलिकम कम्पनीहरुको कुल आयमा ४० प्रतिशत भन्दा बढीको योगदान गर्ने अन्तर्राष्ट्रिय कलको योगदान हाल घटेर ३० प्रतिशत भन्दा कम भईसकेको छ। यसले कम्पनीहरुको आय घटाउनुका साथै देशले दूरसञ्चार क्षेत्रबाट गर्ने वैदेशिक मुद्रा आर्जन तथा सरकारले पाउने राजश्वमा समेत असर परेको छ।
सामाजिक संजालको बढ्दो प्रयोगले दूरसंचार कम्पनीहरुको डाटावापतको आम्दानी भने बढेको छ। एनसेलको डाटा आम्दानी बढे पनि समग्र आम्दानी घटेको हो। एनसेलको प्रमुख लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको २०१८ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको इन्टरनेट आय बढे पनि कुल आयमा ह्रास आएको हो।
एनसेलले २०१८ को तेस्रो त्रैमासमा कुल १४ अर्ब १२ करोड आम्दानी गरेको छ। गत वर्ष तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानी १४ अर्ब ५७ करोड थियो। सामाजिक संजालको प्रयोगमा डाटाको प्रयोग अत्याधिक हुँदा सोवापतको आय बढेको कम्पनीले जनाएको छ।
२०१७ को तेस्रो त्रैमासिकमा कुल आयमा डाटाको योगदान २० प्रतिशत रहेकोमा अहिलेको तेस्रो त्रैमासमा २४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
एनसेल मात्रै नभई नेपाल टेलिकमको दूरसंचार सेवावापतको आम्दानी समेत घटेको छ। टेलिकमले आफ्नो सेवावापत यस आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९ अर्ब ४९ करोड आम्दानी गरेको छ। गत वर्षको सो अवधिमा यस्तो आम्दानी १० अर्ब ५८ करोड थियो।
भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, इमो, स्काइप लगायतका ओटिटी सेवाको प्रयोग गरेर अन्तर्राष्ट्रिय तथा लोकल कल गर्ने क्रम बढ्नाले आम्दानीमा असर परेको सेवा प्रदायकहरुले बताउँदै आएका छन्।