नेपाल दुरसंचार प्राधिकरणले नयाँ टेलिकम कम्पनीका लागि बाटो खुल्ला गर्ने तयारी गरेको छ। अहिले बजारमा दुईवटा कम्पनीबीचमा मात्र प्रतिस्पर्धा भएको र यसले छनौटको अवसरलाई खुम्चाएको भन्दै नियमकले नयाँ कम्पनीलाई बाटो खुल्ला गर्ने तयारी गरेको छ।
अहिले नेपाल टेलिकम र एनसेलले बजार हिस्सा आगेटेको र यसले गर्दा उपभोक्तालाई छनौटको अवसर सिमिति भएको भन्दै अर्को कम्पनीलाई प्रवेश गराउने बारे तयारी भइरहेको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।
भएका अन्य कम्पनीले सेवा विस्तार तथा बजार प्रबद्र्धनमा खासै चासो नदिएकाले नयाँ कम्पनीका लागि बाटो खुल्ला गर्ने बारे छलफल गरिरहेको उनको भनाइ छ।
‘युटिएल आफै बन्द हुने अवस्थामा पुगेको छ एउटा भएको स्मार्टलाई हामीले पर्खेर बसेका छौं स्मार्टले पनि खासै छनक ल्याएन भने हामी नयाँ कम्पनीका लागि बाटो खोल्ने तयारीमा छौं’ उनले सेतोपाटीसँग भने।
स्मार्ट टेलिकमले अहिले बजारमा खासै सेवा विस्तार गर्न सकिरेहको छैन।
७०० र २६०० ब्यान्डमा रहेको फ्रिक्वेन्सी नयाँ कम्पनीका लागि पनि खुल्ला गरी खुल्ला प्रतिस्पर्धाबाट दिएर टेलिकम सेवा संचालनका लागि अनुमति दिने तयारीमा प्राधिकरण रहेको छ। यसअघि पहिले कम्पनी स्थापना गर्ने पछि फ्रिक्वेन्सी दिने अभ्यास रहेको थियो।
दुरसञ्चार प्राधिकरणसँग उपलब्ध फ्रिक्वेन्सी वितरण गर्ने कार्यविधि तथा नियमावली पारित भएर आएसँगै अब वितरणको प्रक्रिया अघि बढाएकाे झाले जानकारी दिए।