इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पोलहरु र ओपिजिडब्लु फाइबरको प्रयोगवापत विद्युत प्राधिकरणले बढाएको शुल्क नतिर्ने भएका छन्।
इन्टरनेट सर्भिस एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै तथ्यपरक बिना ५ सय प्रतिशतसम्म शुल्क बढाइएको भन्दै विरोध जनाएको हो।
प्राधिकरणको पोल तथा फाइबर प्रयोग गरेवापत मुलुकभर सहुलियत दरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एसोसिएनको दावी छ।
सरकारले इन्टरनेट सेवालाई शुलभ बनाउने भन्दै नीतिहरु बनाउँदै गर्दा प्राधिकरणले बढाएको शुल्कले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ठूलो असर पर्ने एसोसिएसनले जनाएको छ।
कुनै पनि सरकारी निकायले इन्टरनेटको मूल्यबृद्धि हुने खालका कामकारबाही नगर्ने सहमतिविपरित प्राधिकरणले शुल्क बढाएको एसोसिएसनको आरोप छ। यो समस्या समाधानका लागि सूचना तथा प्रविधि मन्त्रालय, दूरसंचार प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीका सदस्य सम्मिलित उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग एसोसिएसनले गरेको छ।
प्राधिकरणले पोल र ओपिजिडब्लु फाइबर प्रयोग गरेवापत यस आर्थिक वर्षदेखि शुल्क बढाउने निर्णय गरेको थियो।