दूरसञ्चार प्राधिकरणले उपलब्ध फ्रिक्वेन्सी बोलकबोलको आधारमा वितरण गर्नको लागि अघि बढाएको टेन्डर प्रक्रिया फेरि रोकिएको छ।
आधारभूत टेलिफोन सेवा तथा मोबाइल सेवा सञ्चालनको अनुमति पाएका कम्पनीहरूले भाग लिन पाउने यो बोलकबोलमा योग्य हुनका लागि शुल्क तथा रोयल्टी चुक्ता गरेको, कुनै पनि कारबाही तथा चेतावनी नपाएको कम्पनी हुनुपर्ने मापदण्डसहित अघि बढेको उक्त प्रक्रिया सर्वोच्च अदालतले माघ १६ गते दिएको अल्पाकालिन आदेशका कारण फेरि रोकिएको छ।
न्यायाधिश सपना प्रधान मल्लको एकल इजलासले दूरसंचार प्राधिकरणको विरुद्धमा कारण देखाउ आदेशसँगै फ्रिक्वेन्सी बोलकबोलको कामलाई यथास्थितीमा राख्ने आदेश दिएको थियो।
सोही आदेशअनुसार तत्काल उक्त काम स्थगन गरिएको प्राधिकरणले सार्वजनिक सूचामार्फूत् जानकारी दिएको छ।
अधिवक्ता सुभाष लामिछानेले प्राधिकरणले प्रतिस्पर्धालाई रोक्न खोजेको भन्दै मुद्दा दायर गरेका थिए। यसअघि पहिलोपटक पुस ४ गते सूचना प्रकाशित गरेको प्राधिकरण विरुद्ध सिजी टेलिकमले मद्दा दायर गरेपछि अदालतले रोकेको थियो। अदालतले बाटो खोलिदिएपछि खुल्ला भएको उक्त प्रक्रिया फेरि रोकिएको हो।
प्राधिकरणले ९, १८, र २१ सय मेगाहर्ज ब्यान्डमा खाली रहेको फ्रिक्वेन्सी खुला प्रतिस्पर्धाबाट वितरण गर्ने प्रक्रिया अघि बढाएको थियो। तीनपटकको बोलकबोलबाट सबैभन्दा धेरै कबोल गर्ने कम्पनीले फ्रिक्वेन्सी पाउने छ। तर प्राधिकरणले तोकेको क्याप भन्दा बढी कुने पनि सेवाप्रदायकले पाउने छैन।
यसअघि स्थापित कम्पनीलाई सोझै फ्रिक्वेन्सी दिइएको थियो। अमूल्य प्राकृति स्रोत फ्रिक्वेन्सी खुला प्रतिस्पर्धाबाट दिनुपर्ने संसदको सार्वजनिक लेखा समिति तथा महालेखा परीक्षकको कार्यालयले सुझाव दिँदै आएका थिए।
हाल १८ सय ब्यान्डमा १६, २१ सय ब्यान्डमा ४० मेगाहर्ज फ्रिक्वेन्सी बाँकी रहेको छ भने ९ सयमा ०.६ मेगाहर्ज बाँकी रहेको छ।
थप ३ ब्यान्ड नयाँ टेलिकम कम्पनीलाई
बाँकी रहेका ३ ब्यान्डको फ्रिक्वेन्सी भने नयाँ टेलिकम कम्पनीलाई दिने तयारी भइरहेको छ। प्राधिकरणले नयाँ कम्पनीलाई प्रवेश गराउनका लागि अन्य कानुनी प्रक्रिया मिलाइरहेको र सोहीअनुसार बोलकबोलबाट दिइने प्राधिकरणले तयारी गरिरहेको छ।
७०० र २६०० ब्यान्डमा रहेको फ्रिक्वेन्सी नयाँ कम्पनीका लागि पनि खुला गरी खुला प्रतिस्पर्धाबाट दिएर टेलिकम सेवा सञ्चालनका लागि अनुमति दिने तयारीमा प्राधिकरण रहेको छ। यसअघि पहिले कम्पनी स्थापना गर्ने पछि फ्रिक्वेन्सी दिने अभ्यास रहेको थियो।