फेसबुकका कर्मचारीहरूले बुधबार बिहान आफ्ना नियमित काम गर्न पाएनन्। उनीहरूको आइफोनमा क्यालेन्डरले काम गरिरहेको थिएन। साथीहरू कता छन् भनेर खोज्न सकिरहेका थिएनन्। पुग्नु पर्ने ठाउँका नक्साहरू बन्द थिए। कर्मचारीका निम्ति फेसबुकले व्यवस्थापन गरेको बस आगमन समय तालिका पनि देखिएन।
एकाएक फेसबुकका कर्मचारीको फोनमा यो समस्या देखियो। यो सबै समस्या एप्पलले उत्पन्न गरेको थियो। फेसबुकका कर्मचारीहरूका आइफोनमा फेसबुकले नै बनाएका एपमार्फत् यी काम हुँदै आएका छन्। एप्पलले फेसबुकका यी सबै आन्तरिक एप बुधबार बिहान बन्द गरिदिएको हो।
फेसबुकलाई एप्पलले यो 'सजाय' दिएको हो। सोमबार फेसबुकले एप्पलसँग गरेको प्रयोगकर्ताको गोपनियता सम्झौता तोडेको खुलासा भएको थियो। नियमविपरीत उसले पैसा दिएर प्रयोगकर्तालाई 'रिसर्च' एप चलाउन लगाएको थियो। यो एपले प्रयोगकर्ताका सबै अनलाइन गतिविधिमा पहुँच हुन्थ्यो। फेसबुकले आफ्ना फाइदाका निम्ति गलत काम गरेको आरोप छ।
यसको भोलिपल्ट एप्पलले फेसबुकको 'रिसर्च' एप आफूले जारी नै नगर्ने बताएको थियो। अनि बुधबार बिहानै उसले फेसबुकका करिब ३५ हजार कर्मचारीको फोनबाट केही एप्स र अपडेट बन्द गरिदिएको हो।
समस्या यतिमा सीमित भएन। उनीहरूको फोनमा म्यासेन्जर, वर्कप्लेस जस्ता एपले पनि काम गर्न छाडे। झन्डै दुई दिन फेसबुकले एप्पलको यो सजाय बेहोर्नुपर्यो। बिहीबार राती मात्र एप्पलले बन्द गरेका एप खुला गरिदियो।
एप्पलको यो कदमले निकै चर्चा पाएको छ। प्रविधिको संसारमा एप्पलले आफ्नो तागत देखाउन सफल भएको छ। फेसबुक संसारकै ठूलो सामाजिक सञ्जाल हो। एप्पलले आफ्नो फोनमा फेसबुकसहित सबै एप्समाथि नियन्त्रण गर्छ। फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई एप्पलको यो क्षमता अहिले चिन्ताको विषय बनेको बताइएको छ।
एप्पलले फेसबुकमाथि मात्र होइन, गुगलमाथि पनि आफ्नो तागत देखाएको छ। फेसबुक झैं गुगल पनि नियम तोड्दै एक एप जारी गरेको थियो। उसलाई पनि एप्पलले बिहीबार फेसबुकलाई जस्तै सजाय दिएको थियो। गुगलका अनुसार आइफोन सफ्टवेयरमा चलने उसका केही आन्तरिक एप्स अस्थायी रूपले बन्द भए। जिमेल र गुगल म्याप अपडेट भइरहेका छैनन्।
फेसबुक बारम्बार प्रयोगकर्ताको गोपनियता भंग गरेको विवादमा परेको छ। यो विवादले प्रयोगकर्तासँगै अब साझेदार कम्पनी पनि रिसाउन थालेका छन्।
मंगलबार मात्र फेसबुकले 'रिसर्च' एपका माध्यमबाट प्रयोगकर्ताका व्यक्तिगत डाटा र जानकारी संकलन गरिरहेको खुलासा भएको थियो। यो एपले प्रयोगकर्ताले चलाएका अरू एप, व्यक्तिगत म्यासेज र उनीहरूको लोकेशन डाटाबारे सबै जानकारी लिन फेसबुकलाई सघाइरहेको थियो। फेसबुकको यो एप विशेषगरी १३ देखि ३५ वर्षका प्रयोगकर्तामा लक्षित भएको बताइएको छ।
फेसबुकको यो काम गत वर्ष एप्पलले प्रयोगकर्ताको गोपनियताबारे गरेको सम्झौता विपरीत छ। अब फेसबुकले एप स्टोरमा यो एप उपलब्ध गराउन सक्दैन।
फेसबुकले हाल आएर बन्द गर्ने भनेको यो एप सन् २०१६ देखि नै चलिरहेको थियो। फेसबुकले प्रयोगकर्ताका डाटा तथा जानकारी लिन मरिमेटेको र विभिन्न तरिकाबाट चोर्दै आएको आरोप लागेको यो पहिलोपटक होइन। अमेरिकाको राष्ट्रपति चुनावमा फेसबुकमार्फत् भएका हस्तक्षेपबारे संस्थापक मार्क जुकरवर्गले अमेरिकी संसदमा पटक-पटक सफाइ दिनुपरेको छ। फेसबुकमा आउने खेल र 'भविष्यवाणी' एप्सले पनि प्रयोगकर्ताको विवरण लिइरहेको आरोप बेलाबेखत लागिरहन्छ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सहयोगमा तयार पारिएको)