नेपाल टेलिकमले जनकपुरधाममा एफटिटिएच (एफटिटिएच–फाइबर टु द होम) सेवाको सुरुवात गरेको छ।
सेवाको सुरुवात सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरे। दूरसञ्चार कार्यालय जनकपुरमा आयोजित सो कार्यक्रममा मन्त्री बास्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक आरम्भ गरेका हुन।
कार्यक्रममा बोल्दै उनले डिजिटल नेपालको अवधारणालाई साकार बनाउँदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्न नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताए।
उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिन समेत कम्पनी थप ग्राहकमुखी हँुदै जानुपर्ने बताए।
कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल वनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताए।
उनले कम्पनीका सेवाहरूको विस्तारसँगै बजारीकरणलाई थप मजबुत बनाउँदै लैजाने दाबी गरे। सोही अवसरमा नेपाल टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार कार्य समयमा नै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका अनुसार जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ। जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराइने छ।
वित्तीय संस्थाहरुलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने। एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने छ ।
यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने र नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगर सम्म उपलब्ध गराइने कम्पनीको भनाइ छ।टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको जनाएको छ।