गुगलले भारतमा आफ्नो प्लेस्टोरबाट टिकटक एप हटाएको छ।
भारत सरकारले उक्त एप हटाउन पत्र पठाएपछि पछिल्लो समय लोकप्रिय टिकटक प्लेस्टोरबाट भारतमा डाउनलोड गर्न नमिल्ने बनाइएको गुगलले जनाएको छ।
यसअघि तमिलनाडुको उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन भारत सरकारलाई आदेश दिएको थियो। सोही आदेशअनुसार सरकारले गुगललाई पत्र पठाएको हो।
उक्त अदालतले टिकटकको प्रयोगबाट यौनजन्य सामग्री फैलिएको र यसले बालबालिकामा नकारात्मक असर पारेको बताएको थियो।
सो फैसलाको पुनरावलोकनका लागि चिनियाँ कम्पनी टिकटकले दिएको निवेदन अदालतले दरपिठ गरिदिएको छ।
भारत सरकारले एप हटाइदिन एप्पललाई पनि पत्राचार गरेको छ।
स-साना भिडियो बनाउन मिल्ने टिकटक नेपाली प्रयोगकर्तामा पनि लोकप्रिय छ।