काठमाडौं उपत्यकाका ट्याक्सीलाई एप्समार्फत बोलाउन सकिने भएको छ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले अर्को सातादेखि 'इजि ट्याक्सी नेपाल' नामको एप्स सञ्चालनमा ल्याउने जनाएको छ।
एक सय वटा ट्याक्सीमा परीक्षण गरेपछि सबैलाई एप्समा आबद्ध गराइने समाजका अध्यक्ष सानु पुर्वाछाने मगरले जानकारी दिए।
एप्सबाट सेवा लिन यात्रुले गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्नेछ। त्यसपछि यात्रुले 'लग इन' गरेर आफू बसेको स्थानदेखि जाने ठाउँ तय गर्नुपर्नेछ।
नजिक भएको ट्याक्सीले 'एसेप्ट' गरेपछि फोन गर्न सकिने उनले जानकारी दिए।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा ट्याक्सी धेरै भएकाले यात्रुलाई ट्याक्सी भेट्न ५ मिनेट भन्दा बढी समय नलाग्ने मगरले जानकारी दिए।
हाल समाजमा ५ हजारभन्दा धेरै ट्याक्सी आवद्ध रहेको उनको दावी छ। एप्स चलाउन नजान्ने चालकलाई तालिम समेत दिइने उनले बताए।