सूचना प्रविधि जायन्ट हुवावेको आम्दानी अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढेको छ। अमेरिकी प्रतिवन्ध खेपिरहेको हुवावेले सन् २०१९ को पहिलो त्राइमासमा अघिल्लो वर्षको तुलनामा आम्दानी बढाएको हो ।
दूरसञ्चार उपकरण, स्मार्टफोन,क्लाउड कम्प्युटिङजस्ता व्यापारमा संलग्न कम्पनीले यो वर्षको तीन महिनामा १७९.७ अर्ब चिनियाँ युआन कमाएको छ। यो अवधिमा कम्पनीले खुद नाफा भने ८ प्रतिशतले बढाएको छ।
कम्पनीले यो वर्ष पनि आफ्नो ध्यान सूचना प्रविधि पूर्वाधार र स्मार्ट डिभाइसमा हुने घोषणा गरेको छ। सन् २०१० बृहत रुपमा फाइभजीको विस्तारको वर्ष हुने र यसले कम्पनीको आम्दानी र नाफा बढाउन सहयोगी हुने बताएको छ।
हुवावेले विश्वभर फाइभजी विस्तारका लागि ४० व्यावसायिक सम्झौता गरेको जनाएको छ। उसले हालसम्म ७० हजार फाइभजी बेस स्टेशन खडा गरिसकेको जानकारी दिएको छ।