एक्सक्लुसिभः
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गत असार १ र साउन १६ गते निम्तिएको भेलबाढीको कारण बहुप्रकोप भएको खुलेको छ।
हेलम्बु माथिको भ्रेमाथाङ क्षेत्रमा जम्मा भएको ग्लेसियर निर्मित गेगरान बग्न थालेपछि मेलम्ची खानेपानी आयोजनासँगै त्यस तलका बस्तीहरू जोखिममा छन्। भ्रेमथाङ क्षेत्रमा जम्मा भएको ढुङ्गा, बालुवासहितको लेदो बग्ने क्रम नरोकिए तल्लो क्षेत्र सधैं जोखिममा पर्ने भौगर्भिक प्रकोपविदले बताइरहेका छन्।
सेतोपाटीले अमेरिकाको प्लानेट ल्याबबाट भ्रेमाथाङ क्षेत्रको स्याटलाइट तस्बिर प्राप्त गरेको छ। साउन १८ गते लिइएको स्याटलाइट तस्बिरमा भ्रेमाथाङमा ठूलो मात्रामा गेगरानहरू जम्मा भएको देखिन्छ। साथै तस्बिरले मेलम्ची क्षेत्रको भेलबाढी उत्पन्न हुनुको कारण भ्रेमथाङभन्दा माथिका हिमालहरू नै कारणका रूपमा देखिएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा कार्यरत विपदविज्ञ इन्जिनियर मन्दिरा श्रेष्ठका अनुसार भ्रेमथाङ क्षेत्रमा अहिले ठूलो मात्रामा गेगरान जम्मा भएको छ।
'स्याटलाइट तस्बिरमा भ्रेमाथाङ क्षेत्रमा आएको परिवर्तन स्पष्ट देखिन्छ,' श्रेष्ठले सेतोपाटीसँग भनिन्, 'भ्रेमाथाङ क्षेत्रमा पेम्दाङ खोला र मेलम्ची खोलालाे ठूलो मात्रामा गेगरान जम्मा गरेको देखिन्छ। जुन बग्न समेत थालेको छ।'
यस्तो गेगरान बग्ने क्रम जारी रहँदा नदी थुनिने र खोल्ने क्रम सुरू हुने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम रहेको श्रेष्ठले बताइन्।
'गेगरान बग्ने क्रममा रहेकाले मेलम्ची क्षेत्रमा अझै पनि साउन १६ गतेको जस्तो भेलबाढीको जोखिम छ,' श्रेष्ठले भनिन्।
भौगर्भिक प्रकोपविद श्रीकमल द्विवेदीले स्याटलाइट तस्बिरबाट मेलम्ची क्षेत्रको भेलबाढीको स्रोत हिमाल नै भएको पुष्टि गरेको बताए।
'स्याटलाइट तस्बिरमा भ्रेमाथाङभन्दा माथिल्लो क्षेत्रको ग्लेसियर क्षेत्र बग्न थालेको देखिन्छ,' द्विवेदीले भने, 'भ्रेमाथाङको निर्माण पनि पहिला ग्लेसियर भएको क्षेत्रबाट बगेर आएको गेगरानबाट बनेको हो। थप ग्लेसियरवाला गेगरान (सेडिमेन्ट) आएकाले जोखिम बढेको छ।'
द्विवेदीले उच्च हिमाली क्षेत्रमा वर्षा भएका कारण माथिल्लो क्षेत्र बग्न थालेको देखिएको बताए।
'त्यहाँ पहिला हिउँ पर्थ्यो। त्यसैले भ्रेमाथाङ बगाउन सक्दैनथ्यो,' उनले भने, 'अहिले भ्रेमथाङ क्षेत्रभन्दा माथिबाट नै बग्न सुरू गरेको देखिन्छ।'
हिउँ पग्लने क्रम तीव्र भएकाले माथिल्लो क्षेत्रमा बग्न थालेको पनि उनले बताए, ‘माथिल्लो क्षेत्रमा परेको पानीले हिउँ पगालेका कारण यस्तो घटना घटेको हुनसक्छ।’
गत साता इसिमोडले मेलम्ची क्षेत्रको भेलबाढीबारे अध्ययन गरेर तयार पारेको रिपोर्टमा पनि मेलम्ची जलाधारको माथिल्लो भेगमा रहेको स्टेशनमा तापक्रम वृद्धि देखिएको उल्लेख छ। इसिमोडले पनि पानी परेपछि हिउँ पग्लिएको र मेलम्ची क्षेत्रको भेलबाढी उत्पन्न गरेको जनाएको थियो।
वर्षासँगै हिउँ पग्लने घटनाबाट सुरू भएको प्रकोपले तल्लो क्षेत्रमा पहिरो निम्त्याएको थियो। पहिरोले खोला थुनिएको थियो र त्यसरी पहिरोले बनेको बाँध बिष्फोटले तल्लो तटमा कटान गरेको थियो।
सेतोपाटीले प्लाेनट ल्याबबाट प्राप्त गरेको स्याटलाइट तस्बिरहरूअनुमति बिना प्रयोग गर्न पाइने छैन।