निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन सरकारलाई गरेको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृत गर्दै आगामी मन्त्रिपरिषद बैठकले पारित गराउने भएका छन्।
आगामी माघ २५ गते राष्ट्रियसभा निर्वाचन गराउन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रस्ताव राखेका थिए। उनको प्रस्तावित मितिमा प्रधानमन्त्रीले स्वीकृत जनाउँदै यसमै वा यसकै पेरिफेरिमा मन्त्रिपरिषद बैठकबाट मिति घोषणा गर्ने प्रधानमन्त्रीले यादवलाई जानकारी गराएका हुन्।
आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म ४० दिनसम्मको समय चाहिने आयोग पदाधिकारीसमक्ष कार्यतालिका प्रस्ताव गरेको थियो। सोही अनुसार यादवले सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरेका थिए। यादवको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक हुँदै जितसक्दो चाडो सल्लाह गरेर मिति सार्वजनिक गर्ने बताएको प्रधामन्त्रीको प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
मंगलबारको भेटमा प्रधानमन्त्री देउवाले उक्त मितिमा सहमति जनाउँदै २५ गतेनै वा यसकै आसपासमा चुनाव गर्ने गरी आगामी मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्रिपरिषद् बैठक बिहीबार बस्नेछ।
यता प्रमुख निर्वाचन आयुक्त यादवले प्रधानमन्त्रीसँगको आजको सल्लाहपछि माघ २५ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति भएको बताए। ‘हामीले प्रस्ताव गरेको माघ २५ गतेलाई सरकारले आगामी क्याविनेटबाट निर्णय गर्ने कुरा भएको छ, अब आयोगले आफ्नो तयारी बढाउँछ,’यादवले भने।
प्रधानमन्त्रीले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेका थिए।