सिँचाईमन्त्री एवम् नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले मुलुक अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रामा अघि बढेकोले सबैले हातमा हात र काँधमा काँध मिलाएर हिँड्नुपर्ने बेला आएको बताएका छन्।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित् त्रिवेणी जागरण समाजले नवनिर्वाचित सांसदलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व र समृद्धितिर मुलुक अघि बढिसक्यो, अब विकास र समृद्धिको युग सुरु भयो, मुलुकमा विकासका लहरहरु आउनुपर्छ, सबै राजनीतिक दलहरुको ध्यान अब त्यतातर्फ जानुपर्छ’,उनले भने।
उनले वर्तमान सरकार छिट्टै सत्ता हस्तान्तरण गर्न आँतुर रहेको पनि सुनाए। ‘हामी सरकार छोड्न तयार छौं, राष्ट्रियसभाको निर्वाचन लगत्तै हामी सरकार छोड्छौं, हामी रहरले सरकारमा बसिरहेका छैनौं।’
त्यस्तै उनले उक्त क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने पनि बचन दिए।
कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले पनि विकास र समृद्धिका लागि सबै मिलेर जानुपर्ने धारणा राखिन्।