संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ, त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताएका छन्। बुधबार संगीत रोयल्टी समाज नेपालको १६ औं स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उनले नेपाली गीत, संगीतका श्रष्टाहरूकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताए।
'नेपाली गीत-संगीतका श्रष्टा-सर्जकले संगीत सिर्जनाका माध्यमबाट राष्ट्र सेवा र राष्ट्रियता जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरूका गीत-संगीतले राष्ट्र बलियो भएको छ,' उनले भने।
मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा-सर्जकको हक-अधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराए।
यसैगरी आफ्ना गीत-संगीत तथा सिर्जनाका माध्यमबाट राष्ट्र सेवा र राष्ट्रियता जगेर्नामा योगदान गर्ने सबै गीतकार, संगीतकार र सर्जकलाई उनले सम्मान व्यक्त गरे। राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पुर्याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब श्रष्टाहरूले आफ्ना गीत, कला, सिर्जना तथा संगीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराए।
गीतकार, संगीतकार, सर्जकलाई आफूले सधैं सम्मान गर्दै आएको र उनीहरूलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैं तयार रहने पनि मन्त्री आलेले बताए।
उनले भने, 'गीत, संगीत तथा कला भनेका देश चिनाउने गहना हुन्। म त्यसको सम्मान गर्छु। आवश्यक पर्ने सहयोगका लागि म सधैं अग्रसर रहने छु।'
उक्त कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गर्न सहज पुर्याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उनकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मान पनि गरिएको थियो।