रक्सीको नियामित प्रयोगले खाने व्यक्तिलाई मात्र असर गर्दैन। घरमा, परिवार, बाल बच्चामा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ। घरमा तनाव मन/मुटावका साथै घरेलु झगडा, हिंसाको मुख्य कारण पनि रक्सी नै हो।
स्वास्थ्यमा यसको नकारात्मक असर त छँदैछ। तर, रक्सी नियामित प्रयोग गरेका व्यक्तिलाई बिस्तारै बिस्तारै आफ्नो कलेजो बिग्रदै गरेको हेक्का हुँदैन।
कम्तिमा १० वर्षदेखि रक्सीको नियामित सेवन दिनहुँ या हप्तामा ४ दिन जसो गरे सिरोसिस हुनसक्छ।
दिनहुँ डेढ बोतल बियर, ३ ग्लास वाइन, १२० एम. एल. (क्वाटर) व्हिस्की या डेढ बोतल लोकल रक्सी विगत १० वर्षदेखि खाँदै हुनुहुन्छ भने खाने व्यक्तिको कलेजोको खराबी हुनसक्छ।
कलेजो बिग्रनु वा कलेजो फेल हुनुको प्रमुख कारण रक्सी नै हो, जसलाई लिवर सिरोसिस भनिन्छ। हाम्रो समाजमा १०० मा ८०-९०% लिवर सिरोसिसको मुख्य कारण रक्सीको नियमित सेवन नै हो।
हिजो आज लामो समयदेखि हेपाटाईटिस बि र हेपाटाईटिस सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा देखा पर्न थालेको छ। कलेजो ७०-८०% बिग्रिँदासम्म पनि कति अवस्थामा कलेजोको रोगको कुनै पनि लक्षण वा समस्या नदेखिन सक्छ।
उदाहरणका लागि, नियमित रक्सी सेवन गर्ने र कलेजो बिग्रदै गरेको व्यक्तिको केही महिना अघिसम्म पनि कलेजोको रगतमा गरिने जाँच पनि सामान्य देखिन सक्छ। कसै कसैमा रोगको सुरूवातीमा कमजोरी महसुस हुन सक्छ।
छिट्टै थकाई लाग्ने, काम गर्न गाह्रो हुने, हात खुट्टा गलेर आउने, खाना खान मन नलाग्ने हुनसक्छ। कलेजो पूर्णतया बिग्रनुअघि नियमित रक्सी सेवन गर्ने व्यक्ति निम्न चरणमा फेला पर्न सक्छन्।
१. कलेजोमा बोसो (फ्याती लिवर)हिजो आज धेरै बिरामीहरू भिडियो एक्सरे गर्दा फ्याती लिवर (कलेजोमा बोसो) देखियो भनेर हस्पिटल, क्लिनिकमा जाने गरेका छन्।
यसलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य देखिएको हुन्छ। उसको रगतमा कलेजोको (एल.एफ़.टि.) रिपोर्ट पनि सामान्य हुन्छ। धेरै जस्तो अवस्थामा यो सामान्य जस्तो लाग्न सक्ला। तर, यसलाई हेलचेक्राई गर्नु हुँदैन।
चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवस्थामा, यो भविष्यमा हुनसक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन्छ।
२. इस्तेतो हेपाटाइटीस – दोस्रो चरण मान्न सकिन्छयसमा भिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखिनुको साथै कलेजो सुन्निन्छ वा फुल्छ।
लक्षणहरूकसै कसैलाई खान मन नलाग्ने, बान्ता हुने, वान्ता होला जस्तो हुने, मुख मिठो नहुने, आलस्य, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुनसक्छ।
यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवस्थामा रोग बढेर कलेजो बिग्रन सक्छ। तर सफल उपचार गरे बिरामी र कलेजो पहिलेको जस्तै सामान्य हुन्छ।
के के जाँच्ने ?रगत, पिसाब, आवस्यकता अनुसार भिडियो एक्सरे, सिटि स्क्यान, इन्डोस्कोपी
- रगतबाट कलेजो जाँच्दा बिलिरूबिन, ए.एल.टि र ए.यस्.टि. उच्च हुनसक्छ।
- रगतमा : हेपाटाईटिस बि र हेपाटाईटिस सी किटाणुको जाँच गर्नुपर्छ।
- पिसाबको जाँच गर्नुपर्छ।
- रगतमा बोसोको मात्र उच्च हुनसक्छ – उच्च कोलेस्टेरोल, उच्च टि.जी.
- सुगर, युरिक एसिड-उच्च हुनसक्छ
- भिडियो एक्सरे गर्दा कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको हुनसक्छ।
- सिटी स्क्यान् आवस्यकता अनुसार गर्नुपर्छ।
- इन्डोस्कोपी आवश्यकता अनुसार गर्नुपर्छ।
तेस्रो वा अन्तिम अवस्थामा लिवर सिरोसिस हुन्छ|लिवर सिरोसिससामान्य भाषामा यसलाई लिवर फेलर भनेर बुझ्न सकिन्छ। सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो। कलेजोको क्यान्सर पछिको यो दोस्रो गम्भीर बिरामी हो।
लिवर सिरोसिसका लक्षणहरू
- जन्डिस रहिरहने (आँखाबाट पहेलो पना सुरू भएर शरीरको अन्य भागमा देखापर्ने र बढ्ने पहेलोपना) र पहेलो पिसाब
- खाना मन नलाग्ने, बान्ता हुने, आलस्य, कमजोरी
- खुट्टा सुनिन्ने, फुल्ने
- पेट फुल्ने, ठूलो पेट हुने
- छाला मासु गलेर आउने, पातलो दुब्लो हुने
- केटा मान्छेको स्तन बढेर आउने
- चोट लाग्दा रगत बगिरहने
कलेजो रोग विशेषज्ञले यस्ता रोगीहरू देख्ने बित्तिकै पत्ता लगाउन सक्छन्। तर, कलेजो के कति बिग्रेको छ, अरू के-के जटिलता छन् त्यो हेर्नलाई केही जाँचहरु गर्नुपर्ने हुन्छ।
सिरोसिस भयो भने के-के समस्या आउन सक्छन?
- पेटमा पानी जम्नाले पेट फुलेर आउँछ, स्वास फेर्न गाह्रो हुन्छ।
- खुट्टा सुनिएर काम गर्न तथा हिंडडुल गर्न गाह्रो हुन्छ।
- बान्तामा रगत आउँछ, दिसामा रगत आउँछ, दिसा कालो हुन्छ।
- बोलि लटपटिने, बेलाबेलामा होश गुम्ने, दिनमा सुत्ने, रातमा बर्बराउने हुन्छ।
- पिसाब कम हुन्छ।
- कलेजोको क्यान्सर
माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अवस्थामा आई.सी.यू. मा भर्ना गरेर मात्र उपचार सम्भव हुन पनि सक्छ।
उपचार के हो लिवर सिरोसिसको?सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ। जन्डिसको उपचार गर्दैमा यो रोग निको हुन्न।
जन्डिस भनेको कलेजोको खराब भन्ने बुझिन्छ। यो आफैंमा कुनै रोग होइन। यसरी त ज्वरो आउँदा सिटामोल खाएजस्तो भयो। जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुपर्यो। तर, बुझ्नुपर्ने कुरा भनेको रक्सी बन्द गर्नुपर्छ, चुरोट खानु हुन्न।
समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन। बिरामीलाई बचाई रहन सकिन्छ। समस्या बढ्न नदिन, कलेजो जति बिग्रियो, बिग्रियो, अब थप बढ्न नदिन केही औषधि प्रयोग गरिन्छ।
- खुट्टा सुन्निएको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि सेवन गर्ने
- दिसा पातलो गर्ने झोल औषधि लेक्टुलोजको प्रयोग गर्ने।
- चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गरिरहने।
- यसको अझै जटिलता नहोस भनेर उपचार गर्ने र जे जस्तो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने।
- कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प नरहन पनि सक्छ।
भ्रमहरू मा नअल्झिनुस
- लिवर टनिकनै जन्डिसको सफल उपचार
- लिवर टनिक खाएपछि रक्सी खान हुन्छ।
- लिवर टनिक खाएपछि कलेजो बिग्रन्न
के बार्ने के नबार्नेबार्ने कुराहरू:
- जाँड रक्सी पुरै बार्ने
- खानामा बिशेष गरि चिल्लो र प्रोटिन कम गर्न माछा मासु, फ्राई गरेको खाना नखाने/ कम गर्ने
- बेसार खाएर कलेजोको रोग, जन्डिस (पहेलो रोग ) बढ्छ, नुन खानु हुन्न भन्ने भ्रम पाल्नु हुन्न।
- जे पनि उमालेको खाने गर्नु पर्दैन।
- तरकारीमा प्याज, तेल प्रयोग गर्नु हुन्न भन्ने भ्रम पाल्नु हुन्न।
- जन्डिस मात्र हुँदा पानी धेरै पिउने भनिन्छ। तर, सिरोसिस भइ सकेपछि अध्याधिक पानी नपिउने। जति पिसाब लाग्छ, त्यति मात्र पानी पिउनुपर्छ।
- मुख नमिठो हुनाले मिठो पानी (ग्लुकोज पानी), फलफूलको जुस खाने। (फलफूलबाट पानीको बिकल्प सहित स्वादिलो र तागत पनि आउँछ) यसले कलेजोलाई असर गर्दैन।
- सकी नसकी मेवा, उखु खोज्दै हिँड्नु पर्दैन। उखु पेल्ने हात पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ। पानी पिउँदा उमालेको अथवा सफा फिल्टर गरेको हुनुपर्छ।
- नियमित बिहान बेलुका खाने दाल भात खान मिल्छ।
- तेलमा फ्राई गरेको, तेलमा तारेको, जंक फुड, मःमः, चाउमिन नखाने।
- कोक, फ्यान्टा र प्याकेटमा पाइने खानेकुरा नखाने।
- सिरोसिस भएका बिरामीहरुमा प्रोटिन कमि हुँदा उसिनेको अन्डाको सेतो भाग दिनमा ३ देखि ५ वटा सम्म खाने।
- भटमास, चना, केराउको सातु आदि खाने।
- नियमित कलेजोको डाक्टरसँग परामर्श लिने र बताइएको औषधि र जाँच गरिरहनु पर्छ।