स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छन्।
प्रत्यक्षदर्शीका अनुसार आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर बिहिबार साँझ करिब ४ बजेतिर उनी फेवा तालमा हाम फालेकी हुन्। उनी हाम फालेको देख्ने बित्तिकै किनारमै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट बाहिर निकालेका थिए।
तालबाट निकालेपछि उनलाई उद्धारमा रहेका व्यक्तिले सम्झाई बुझाई गरेका थिए।
उद्धारकर्ताले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन्।
उनी पोखरामा जारी ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीमा भाग लिन आएकी थिइन्।
श्रोतका अनुसार उनी १५ दिनअघि काठमाडौं गएर डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन्। काठमाडौंमा उनलाई औषधि दिएर केही समय आराम गर्न सुझाव दिएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। ‘घटनाकाबारेमा हामीले पछि मात्र थाहा पायौ,’ कास्की प्रहरीले भन्यो,‘हामीले थाहा पाउँदा उनी उपचार पछि घर फर्किसकेकी रहिछन्। उनी अहिले हाम्रो सम्पर्कमा छैनन्। अनुसन्धान र खोजी भइरहेको छ।’
कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले आफूहरूले यसबारे पछि मात्र थाहा पाएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। ‘हाम्रो सम्पर्कमा मेयर र उपमेयर दुबै आएका छैनन्। स्याङ्जा पुगिसकेको भन्ने जानकारी आएको छ, हामी बुझ्दैछौ,’ उनले भने।