बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइएको छ।
बागमती सफाइ महाअभियानको ४५८ औं हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
विगत केही दिनदेखि काठमाडौं महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ।
फोहरका कारण राजधानी काठमाडौं दुर्गन्धित बन्न थालेको छ। फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ।
बागमती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता थियो।
बागमती सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो। सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ।
अर्को हप्ता शनिबार पनि बागमती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ।
बागमतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए। फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो।
गुह्येश्वरीमाथिको बागमती सफाइको ४२६ औं हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ।
मुहानदेखिकै बागमती सफाइ गर्दै आएको बागमती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
मनोहरा सफाइ अभियानको २५७ औं हप्तामा काठमाडौं महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ।
विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए।
यसैगरी आज काठमाडौं उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, बागमतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ।
यसैगरी बागमती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ।
हाल काठमाडौं उपत्यका बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ।