काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन काम पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र सोमबार फोहोर व्यवसथापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
सोमबार साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मंगलबार बिहानदेखि नियमित फोहोर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताइन्। यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर निस्किन्छ। निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर सिसडोल लैजाने गरिन्छ।
पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहोर व्यवस्थापनको काम सुरू भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो।
स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंका स्थानीय तहको फोहोर सडकमा नै थियो।
पटकपटकको छलफलमा पनि स्थानीयवासीसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त संख्यामा सुरक्षाकर्मी खटाएको हो। पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो।
हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो।
फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या सुरू भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागको भनाइ छ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयवासीकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन।
नियमित पानी पर्न सुरू भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ।