सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड अवरूद्ध छ।
बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरूद्ध गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा १ ख ११२३ नंको टिपरले रा १ प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरूद्ध पारिएको हो।
घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरूद्ध पारिएको हो।
मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ।
सडक अवरूद्ध भएपछि सवारी साधनबीच बाटोमै रोकिएका छन्।
तुलसीपुरबाट सल्यान आउने तथा रूकुम–सल्यानबाट दागतर्फ जाने सवारी साधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिए।
प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ।