भरतपुरमा कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सुवेदीको मृत्यु भएको हो। सोही स्थानमा कार्यरत भरतपुर-७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनका अनुसार आइतबार दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो।
प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो। उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा पौने दुई बजे पूर्ण नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।