पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो।
पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएकी छन्। घाइतेको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।