समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ।
नयाँ शैक्षिकसत्र सुरूआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ।
भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन्।
जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे।
जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आएका उनले भने, ‘विद्यालयमा पठनपाठन सुरू भइसक्यो। पुस्तक लिन गाईघाट आएँ। तर कहीँ पाइएन। रित्तै घर फर्कंदैछु।’
रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गरे।
उनले भने, ‘यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन। कसरी पढाउने, चिन्ता लाग्न थालेको छ।’
अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन्।
जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ।
बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जंगबहादुर खड्काले भने, ‘नयाँ शैक्षिकसत्र सुरू भयो। स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए। अब सञ्चालन हुन थालेका छन्। विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नसकेको कारण पठनपाठनमा समस्या भएको छ।’
पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भने, ‘आफूहरूले त चैतदेखि नै काठमाडौंका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई/चार हप्ता लाग्न सक्छ।’