सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंशी आज बिहान मौन स्नान गरी मनाइएको छ।
सोमबार औंशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ।
ज्येष्ठ कृष्ण औंशीका दिन आज परेको सोमबारे औंशी यस वर्षको पहिलो सोमबारे औंशी हो।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औंशी पर्ने गरेको बताउँछन्।
सोमबारे औंशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए।
औंशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औंशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ।
प्रत्येक महिनामा आउने औंशीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ।
माता, पिता नहुनेले भने औंशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औंशी विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।