दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बर को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो।
गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए।
मृतकको शव सोही अस्पतालमा राखिएको छ।