ठगी र बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
ठगी मुद्दामा काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई बुधबार पक्राउ गरिएको प्रहरी जनाएको छ।
ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–१ घर भएका ३४ वर्षीय अमरबहादुर तामाङलाई पनि बुधबारै प्रहरीले पक्राउ गरेको छ।
बैंकिङ कसुरमा ६२ लाख ३३ हजार रूपैयाँ बिगो भई फरार रहेका उनलाई उक्त कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं माकलबारीबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ।
त्यस्तै बैकिङ कसुर मुद्दाका अर्का फरार प्रतिवादी काठमाडौं जडीबुटी बस्ने धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ३९ वर्षीय हसन साफीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।