भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधार साँझ सेप्टिक ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ।
स्थानीय रामप्यारी गुरुङको घरमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी छन्।
सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्यांकीमा खसेपछि उद्धार गर्न ट्यांकीभित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि मृत्यु भएको हो।
उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्यांकी सरसफाइ गर्ने काम गर्दै आएका थिए।