त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।
रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ।
रजिष्ट्रार प्रा डा दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए।
त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो।
मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो।
६० पूर्णांकको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ।
त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ।