पोखराको लेकसाइडको एक लजमा फ्रान्सेली पर्यटक मृत भेटिएका छन्। पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडको खहरेस्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षिया फ्रान्सोक इन्सिक क्रस्टियन मृत भेटिएका हुन्।
सोमबारदेखि लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए। शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएको र कोठाबाट छुट्टै गन्ध आउन थालेपछि होटलका कर्मचारीले शनिबार बिहान कोठामा हेर्न गएका थिए। उनको कोठा भित्रबाट पनि लगाइएको थिएन। होटलका कर्मचारीले हेर्दा उनी भित्र झुण्डिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर उनले आत्महत्या गरेको घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ। कम बोल्ने र पेन्टिङ गर्ने उनले खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिनसम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको जनाएका छन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।