इंग्ल्यान्डले पहिलो टेस्टमा घरेलु टोली भारतलाई फराकिलो अन्तरमा हराएको छ।
चेन्नईमा इंग्ल्यान्डले दिएको ४ सय २० रनको फराकिलो लक्ष्य पछ्याएको भारत १ सय ९२ रनमा अलआउट हुँदै २ सय २७ रनले पराजित भयो।
दोस्रो इनिङ्समा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए। शुभमन गिलले ५० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन।
भारतका लागि चेतेश्वर पुजारा १५ तथा ओपनर रोहित शर्मा १२ रनमा आउट भएका थिए। ऋषव पन्तले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।
भारतलाई सस्तैमा रोक्न इंग्ल्यान्डका ज्याक लिचले ४ विकेट लिँदा जेम्स एण्डरसनले ३ विकेट लिए।
यसअघि भारतीय बलर चम्किएपछि दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रनमै समेटिएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोय रूटले ४० रन जोड्दा ओली पोपले २८ रन बनाए। डम बेस २५ र जोस बटलर २४ रनमा आउट भए। लरेन्सले १८ रन जोड्दा डोम सिब्लीले १६ रन जोडे।
भारतका रविचन्द्र आश्विनले ६ विकेट लिँदा साहबाज नदीमले २ तथा ईशान्त शर्मा र जसप्रीत बुमराहले समान १-१ विकेट लिए।
त्यसअघि इंग्ल्यान्डले पहिलो इनिङ्समा ५ सय ७८ रनको फराकिलो स्कोर बनाएको थियो ।
इंग्ल्यान्डका लागि करियरको १०० औं टेस्ट खेलेका कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेलेका थिए। उनी दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका थिए।
यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए । ओली पोपले ३४ तथा रोरी बर्न्सले ३३ र जोस बटलरले ३० रन बनाए ।
डम बेस ३४ रनमा आउट हुँदा ज्याक लिच १४ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३/३ विकेट लिँदा ईशान्त शर्मा र साहबाज नदीमले २/२ विकेट लिएका थिए।
त्यसपछि जवाफी ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३ सय ३७ रन जोडेको थियो। भारतका लागि ऋषव पन्तले ९१ रनको योगदान दिँदा वासिङ्गटन सुन्दरले अविजित ८५ रन जोडे। चेतेश्वर पुजाराले ७३ रन बनाए ।
रविचन्द्र आश्विन ३१ रनमा औअत हुँदा शुबमन गिल २९ रनमा आउट भए । कप्तान विराट कोहलीले ११ रन जोडे ।
इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए। यस्तै जेम्स एण्डरसन, ज्याक लिच र जोफ्रा आर्चरले २/२ विकेट लिए।
योसँगै इंग्ल्यान्डले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ । यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।