अमेरिका, ओमान र नेपालबीचको एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो चरणको तयारी सकिएको छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक टिममा परेका २१ खेलाडीलाई समावेश गरेर गत साता पहिलो चरणको प्रशिक्षण सुरु गरेका थिए।
प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। पहिलो चरणमा २१ खेलाडी अभ्यासमा सहभागी भएका थिए।
पहिलो चरणको प्रशिक्षणमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम शोव, राजेश पुलामी मगर, रोहित पौडेल, सुसन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनील धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन सर्राफ सहभागी थिए।
पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको प्रशिक्षक वाटमोरले बताएका थिए। सुरुवाती चरणमा सबै खेलाडीको प्रतिभा हेरेको वाटमोरको भनाइ छ।
आगामी महिना नेपालले एकदिवसीय सिरिजका लागि ओमान भ्रमण गर्ने तय छ। तर ओमानले ७ दिनको क्वारेन्टिनमा नेपाल र अमेरिकाका खेलाडी बस्दा लाग्ने खर्च नबेहोर्ने बताएपछि सिरिज अन्योलमा छ।
अब टिममा परेका ३२ खेलाडी मध्ये शरद भेषवाकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल दोस्रो चरणको प्रशिक्षणमा सहभागी हुनेछन्।
दोस्रो चरणको प्रशिक्षणपछि वाटमोरले नेपाली राष्ट्रिय टिम घोषणा गर्नेछन्।